काठमाडौं । एनएमबी बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)को कार्यभार बुधबारदेखि गोविन्द घिमिरेले औपचारिकरूपमा सम्हालेको बैंकले जानकारी दिएको छ । तीन दशकभन्दा बढी बैंकिङ क्षेत्रको अनुभव हासिल गरेकी घिमिरे विगत १६ वर्षदेखि एनएमबी बैंकसँग आबद्ध रहेका छन् । बैंकको विभिन्न विभाग तथा शाखाहरू समेतको नेतृत्व गरी कार्य अनुभव हासिल गरेका घिमिरे यसअघि बैंकको नायब प्रमुख कार्यकारी अधिकृत रहेका थिए । उनले बैंकको सेवा विस्तार र सुधारमा महत्वपूर्ण योगदान दिई आएका छन् ।
उनको योगदानहरू बैंकको व्यापार, वित्त, क्रेडिट जोखिम व्यवस्थापन, रणनीतिक योजना निर्माण र सञ्चालन सुधारका कार्यहरूमा विशेषरूपले महत्वपूर्ण रहँदै आएका छन् । उनले एनएमबी बैंकको सञ्चालन प्रणालीमा सुधार ल्याउन, प्रविधिमा आधारित सेवा विस्तार गर्न र दिगो बैंकिङ अभ्यासहरूलाई अघि बढाउन निरन्तर सक्रिय भूमिका निभएका छन् । उनको बैंकिङ अनुभवले एनएमबी बैंकलाई थप प्रगति र समृद्धिको मार्गमा अघि बढाउने विश्वास बैंकले लिएको छ ।
नवनियुक्त कार्यकारी अधिकृत घिमिरेले प्रमुख कार्यकारी अधिकृतको कार्यभार सम्हाल्दै बैंक सञ्चालक समिति तथा व्यवस्थापन समक्ष आगामी योजना तथा बैंकको प्रगतिका लागि देहायबमोजिमको धारणा व्यक्त गरेका छन् । ‘मेरो प्राथमिकता नवप्रवर्तन, दिगो साझेदारी र समावेशी वित्तीय सेवामा केन्द्रित हुनेछ, जसले बैंकलाई अझ प्रभावशाली र अर्थपूर्ण बनाउनेछ । डिजिटल प्रविधि र नयाँ सोचको समावेशसँगै हामी ग्राहक, समुदाय र राष्ट्रसँग मिलेर दिगो र सकारात्मक परिवर्तन ल्याउने दिशामा अघि बढ्नेछौँ ।’
साथै, बुधबारकै मितिबाट लागू हुने गरी बैंकका हालका नायब प्रमुख कार्यकारी अधिकृत सुदेश उपाध्यायले वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतको कार्यभार सम्हालेनका छन् । स्वदेशी तथा विदेशी बैंकहरूमा कार्य गरी कार्य अनुभव प्राप्त गरेका उपाध्याय अन्तर्राष्ट्रिय व्यापार तथा अन्तर्राष्ट्रिय सम्बन्धका साथै बैंकिङ व्यवसाय गहिरो ज्ञान भएका बैंकर मानिन्छ । उनीहरूको नियुक्तिसँगै एनएमबी बैंकले अनुभव र निरन्तरतामा आधारित नयाँ नेतृत्वको स्वागत गर्दै ‘समृद्ध नेपाल’को उद्देश्यतर्फ कदम अगाडि बढाएकोे छ ।