दाङ । दाङको घोराही उपमहानगरपालिकाका र तुलसीपुर उपमहानगरपालिका सामुदायिक विद्यालयले देशभरका शिक्षकहरु आन्दोलनमा होमिरहेका बेला विद्यार्थी भर्ना लिन सुरु गरेको छ । वैशाख ८ गते देखि घोराहीका सामुदायिक तथा संस्थागत विद्यालय सञ्चानल गर्न घोराही उपमहानगरपालिकाले निर्देशन दिएपछि घोराहीका सामुदायिक विद्यालयमा भर्ना अभियान सुरु गरिएको हो ।
घोराही उमहानगरको शिक्षा महाशाखाका प्रमुख नारायण पौडेलले उपमहानगरपालिकाले निजी स्रोतका कर्मचारी र शिक्षकहरुलाई परिचालन गरेर विद्यार्थी भर्ना अभियानलाई तिब्रता बनाएको बताए । माध्यमिक विद्यालय रझेना, पद्मोदय पब्लिक नमुना उच्च माध्यमिक विद्यालय लगायत सामुदायिक विद्यालयमा भर्ना अभियान चलिरहेको छ उनले भने ।
उपमहानगरपालिकाकी उपमेयर हुमा डिसी, सामाजिक महाशाखा संयोजक एवं उपमहानगरपालिकाका प्रवक्ता राममणि पाण्डे, शिक्षा महाशाखा प्रमुख नारायण पौडेललगायतको टोलीले सामुदायिक विद्यालय सञ्चालनमा आएको छ, छैन र भर्ना अभियान चलेको छ, छैन भन्ने बारे बुधबार अनुगमन गरेका छन् ।
उपमहानगरपालिकाका प्रवक्ता पाण्डेले अनुगमनका क्रममा घोराहीका सामुदायिक विद्यालयहरूमा भर्ना अभियान सन्तोषजनक रूपमा सञ्चालन भइरहेको जानकारी गराए । उनले उपमहानगरपालिकाले वैशाख १४ गतेसम्म विद्यार्थी भर्ना अभियानलाई सम्पन्न गरेर कक्षा संचालन गर्ने तयारी गरेको बताए ।