काठमाडौं । शेयर बजारमा सामान्य सुधार देखिएको छ । साताको सुरुवाती कारोबार दिनदेखि नैं लगातार ओरालो लागेको नेप्से परिसुचक साताको अन्तिम कारोबार दिन आज बिहिबार भने दुई दशमलव शुन्य आठ अंकले उकालो लागेर २६ सय ६८ दशमलव शुन्य दुई अंकमा चढेको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव २३ अंकले उकालो लागेर चार सय ४७ दशमलव २६ बिन्दुमा चढेको छ ।
धितोपत्र बजारमा आज तीन सय आठ वटा कम्पनीहरुको ७० हजार सात सय तीन पटकको कारोबारमा एक करोड ९७ लाख ५४ हजार दुई सय ४५ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम सात अर्ब ८७ करोड ९३ लाख ८१ हजार दुई सय ६८ रुपैयाँ पुगेको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये बाणिज्य बैंक, जलबिद्युत, लगानी, सामुहिक लगानी कोष र व्यापार उपसमुहको सुचक उकालो लागेका छन् भने बिकास बैंक, फाईनान्स, जीवन बीमा, निर्जीवन बीमा, होटल तथा पर्यटन, लघुवित्त, उत्पादनमुलक र अन्य उपसमुहहरुको सुचक ओरालो लागेका छन् ।