काठमाडौ : मोबाइल फोन इम्पोर्टर्स एशोसिएशन (एमपिआइए) का अध्यक्ष दीपक कुमार मल्होत्राले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) को प्रभावकारी कार्यान्वयनमा जोड दिएका छन् । नेपाल मोबाइल वितरक संघ (एनएमडिए) का नवनिर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारीहरूलाई बधाई ज्ञापन गर्दै उनले एमडिएमएसको प्रभावकारी कार्यान्वयनमा एमपिआइए, एनएमडिए र नेपाल मोबाइल व्यवसायी महासंघ (एफएनएमबिए) बीच सहकार्यलाई अझ सशक्त बनाउँदै सुरक्षित, व्यवस्थित र मर्यादित मोबाइल व्यवसाय वातावरण निर्माणमा जोड दिए । उनले उपभोक्तालाई गुणस्तरीय सेवा र सुविधा सुनिश्चित गर्नु नै सबैको साझा लक्ष्य हुनुपर्ने बताए । एमपिआइएका उपाध्यक्ष संजय अग्रवालले मोबाइल क्षेत्रमा व्याप्त असुरक्षित उधारो कारोबारलाई नियन्त्रणमा ल्याउन र अबैध मोबाइल आयातलाई रोक्न तत्कालीन आवश्यकता रहेको बताए । एनएमडिएका नवनिर्वाचित अध्यक्ष रघु त्रिपाठीले एमपिआइए र एनएमडिए बीच आगामी दिनमा अझ सुदृढ समन्वयका साथ मोबाइल व्यवसायको प्रवद्र्धन र व्यवसायिक शुद्धता कायम राख्न आफ्नो प्रतिबद्धता जाहेर गरेका थिए । उनले मोबाइल बजारमा देखा परेका चुनौतीहरू र भविष्यका सम्भावनाहरूको चर्चा गर्दै सहकार्यमै सम्भावनाको मार्ग खुल्ने विश्वास व्यक्त गरे ।