काठमाडौं । जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले एक दिवसीय सेल्स ट्रान्सफरमेसन सेसन सम्पन्न गरेको छ । काठमाडौंमा आयोजित कार्यक्रममा चालु आर्थिक वर्षको तेस्रो त्रैमासको व्यापार समीक्षा गर्दै आर्थिक वर्ष २०८१/८२ को बाँकी समयावधिको लागि सेल्स रणनीतिको तर्जुमा गरिएको थियो । यस कम्पनीका सञ्चालक कमलेश कुमार अग्रवालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली, नायब प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयाल, नेसनल सेल्स हेड उमापति पोखरेललगायत उच्च व्यवस्थापकहरू तथा प्रादेशिक प्रमुखहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा बोल्दै कम्पनीका सञ्चालक कमलेश कुमार अग्रवालले चुनौतीपूर्ण अवस्थाका बाबजुद पनि कम्पनीले प्राप्त गरेका उपलब्धिका निम्ति सम्पूर्ण प्रगतिका सहयात्रीलाई हृदयदेखि नै धन्यवाद ज्ञापन र आगामी दिनमा कम्पनीले लिएको लक्ष्यलाई प्राप्ति गर्नका निम्ति सबैलाई शुभकामना व्यक्त गरेका थिए । जीवनबीमा व्यवसाय एकदमै सेन्सिटिभ क्षेत्र रहेको बताए । जीवन बीमा पोलिसी एउटा सामान्य दस्तावेज मात्र नभई यो भविष्य निर्धारण गर्ने आधारशीला र जीवनयापन गर्ने माध्यम रहेको बताए । बजारमा रहेको जोखिमलाई खरिद गरी मान्छेको जीवनलाई सहज बनाउन बीमा कम्पनीले अतुलनीय भूमिका खेल्ने र त्यसका निम्ति सम्पूर्ण नेपाल लाइफकर्मीहरूलाई बीमाको चेतना अभिवृद्धि गर्न आग्रह गरे । उनले सफलता कुनै चामत्कारिक घटना नभई टिमको जोशजाँगर, इमान्दारी, परिश्रम, दीर्घकालीन सोच, रणनीतिको तर्जुमा र त्यसको सही कार्यान्वयनको समिश्रण रहेको बताए । विभिन्न परिस्थितिबाट गुज्रिँदै र त्यसबाट पाठ लिँदै आजको अवस्थामा आएको यस कम्पनीले बीमा बजारलाई मार्गनिर्देश गर्न पनि भूमिका निर्वाह गर्नुपर्ने कुरा बताए । जीवन बीमाको बजारीकरण, सचेतना तथा बीमा बजारको विकास र बीमाको पहुँचलाई आमनागरिकबीच पुर्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले कम्पनीले प्राप्त गरेको उपलब्धि ऐतिहासिक रहेको र यसलाई मूर्तता प्रदान गर्न अहोरात्र खट्ने कर्मचारीहरू, अभिकर्ताहरूलाई अन्तरमनदेखि धन्यवाद ज्ञापन गरे । कम्पनीले २५औँ वर्षमा प्रवेश गर्दै गरेको अवसरमा कम्पनीले लिएको ऐतिहासिक लक्ष्य सजिलै प्राप्त हुनेमा विश्वस्त रहेको बताए । यस आवमा नेपाल लाइफले जीवन बीमा क्षेत्रमा इतिहास रच्ने र त्यो इतिहास रच्न अतुलनीय भूमिका निर्वाह गर्ने सञ्चालक समिति कम्पनीको मेरुदण्डका रूपमा रहेका अभिकर्ताहरू, कर्मचारीहरू, नियामक निकायहरूलाई धन्यवाद ज्ञापन गरे । बजार हिस्सालाई अग्रस्थानमा राख्दै जीवन बीमाको पहुँचलाई अभिवृद्धि गर्न दत्तचित्त भएर कार्यसम्पादन गर्न सबैलाई आग्रह गरे । कम्पनीले आफ्नो आन्तरिक तथा बाह्य प्रणालीलाई समय सापेक्ष बनाउनका निम्ति डिजिटलाइजेसनको कार्य थालनी गरिसकेको बताए । निकट भविष्यमा बीमितहरूले यस कम्पनीद्वारा प्रदान गरिने सेवाहरू प्राप्त गर्न शाखा धाउन पर्ने अवस्थाको अन्त्य हुने र बीमितहरूले घरै बसीबसी सम्पूर्ण सेवा थप छिटोछरितो चुस्त र दुरुस्त तवरले प्राप्त गर्ने कुरा बताए ।
कार्यक्रममा नेसनल सेल्स हेड, सेल्ससँग सम्बन्धित विभागीय प्रमुखहरू तथा प्रादेशिक प्रमुखहरूले आ–आफ्नो प्रतिवेदनहरू प्रस्तुत गरे । कम्पनीको उच्च व्यवस्थापनद्वारा दिइएको मार्गदर्शनलाई शिरोधार्य गर्दै सेल्स टिम दत्तचित्त भई जीवन बीमा बजारको बजारीकरण तथा बीमाको पहुँचलाई बढाई यस कम्पनीको भिजनलाई निरन्तरता प्रदान गर्न कुनै कसर बाँकी नराखी कार्यसम्पादन गर्न सम्पूर्ण नेपाल लाइफकर्मी तयार रहेको कुरा नेसनल सेल्स हेड उमापति पोखरेलले बताए ।
समापन मन्तव्य व्यक्त गर्दै कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयालले हालसम्मको उपलब्धिका लागि सबैलाई धन्यवाद ज्ञापन गरे । जीवन बीमा क्षेत्रमा आगामी दिनमा विभिन्न प्रकारका रूपान्तरणहरू हुने र सोलाई अङ्गीकार गर्न आफ्नो सीप, क्षमता र ज्ञानलाई अभिवृद्धि गर्न निरन्तर दत्तचित्त भएर लाग्न आग्रह गरे । भूमण्डलीकरण र आर्टिफिसियल इन्टेलिजेन्सको विकाससँगै जीवन बीमा क्षेत्रमा पनि विभिन्न प्रकारका अवसरहरू सिर्जना भएको र सोलाई मूर्तता प्रदान गर्न कम्पनी अग्रसर भई कार्यारम्भको थालनी गरी सकिएको बताए ।