किभ । रुसले बुधबार राति युक्रेनको राजधानी किभमा मिसाइल र ड्रोनले आक्रमण गरेको छ । यस आक्रमणमा कम्तीमा आठ जनाको मृत्यु भएको छ भने ७० भन्दा बढी घाइते भएका छन् । यो युक्रेनी राजधानीमा पछिल्लो नौ महिनामा भएको सबैभन्दा ठूलो आक्रमण हो ।
आक्रमणका कारण धेरै भवनहरूमा आगलागी भएको अधिकारीहरूले बताएका छन् । छ बालबालिकासहित ४२ जनालाई अस्पतालमा भर्ना गरिएको छ । केही मानिसहरू अझै पनि भग्नावशेषमा फसेका छन; उनीहरूलाई बचाउन उद्धार कार्य भइरहेको युक्रेन सरकारले जनाएको छ ।
मिडिया रिपोर्टका अनुसार रुसले युक्रेनमा ७० वटा मिसाइल र एक सय ४५ ड्रोनले आक्रमण गरेको थियो, जसको मुख्य निशाना राजधानी कीभ थियो । युक्रेनी राष्ट्रपति जेलेन्स्कीले आक्रमणको उद्देश्य अमेरिकामाथि दबाब सिर्जना गर्नु रहेको बताएका छन् ।
आक्रमणपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई आक्रमण रोक्न आग्रह गरेका छन् । ट्रम्पले सामाजिक सञ्जालमा लेखेका छन, ‘म कीभमाथिको रुसी आक्रमणबाट खुशी छैन । यो अनावश्यक र गलत समय हो । भ्लामिमिर, रोक ! शान्ति सम्झौता गरौँ ।’ यस आक्रमणले ट्रम्पले युद्ध रोक्न गरेको प्रयासमा थप चुनौती थपेको छ ।