काठमाडौं । नेपाल शिक्षक महासंघ र सरकारबीच आज शनिबार बिहान बसेको वार्ता निष्कर्षविहीन भएको छ । सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा मन्त्री रघुजी पन्तको उपस्थितिमा वार्ता भएको थियो ।
आजको वार्तामा आन्दोलनरत शिक्षक महासंघले आफ्नो मागबारे मन्त्री रघुजी पन्तलाई राखेका थिए । मन्त्रालयबाट भने शिक्षकका माग सम्बोधनबारे ठोस कुरा आइनसकेको पाइएको छ । तर, वार्तालाई निरन्तरता दिने सहमति भएको पाइएको छ ।
शिक्षकहरू आन्दोलित भएको आज ८५ औं दिन भएको छ । शैक्षिक हड्ताल गरेर काठमाडौं केन्द्रित सडक आन्दोलन गरेको २५ दिन पुगेको छ । लामो समय सार्वजनिक शिक्षा प्रभावित भएपछि सरकारले माग सम्बोधनका लागि केही तदारुकता देखाए पनि शिक्षकको अडानका कारण सहमति हुन सकेको छैन ।