काठमाडौं । सामाजिक सुरक्षा कोषमा योगदानकर्ताबाट हुने योगदान रकममा निरन्तर वृद्धि भइरहेको छ । कोषका अनुसार बिहीबारसम्म विभिन्न क्षेत्रका योगदानकर्ताहरूले कोषमा ७८ अर्ब ४१ करोड रुपैयाँ योगदान गरेका छन् । जुन गत आर्थिक वर्षको तुलनामा ३४ दशमलव ५१ प्रतिशत बढी हो । गत आर्थिक वर्षमा योगदान रकम ५८ अर्ब २९ करोड सङ्कलन भएको छ ।
कोषका प्रवक्ता कृष्ण अधिकारीका अनुसार कोषमा औपचारिक, वैदेशिक रोजगारी, अनौपचारिक र स्वरोजगार क्षेत्रका योगदानकर्ताले योगदान गर्ने गरेको बताए । औपचारिक, वैदेशिक रोजगारी, अनौपचारिक र स्वरोजगार क्षेत्रका योगदानकर्ता गरी चारवटा क्षेत्रबाट उक्त योगदान रकम कोषमा सङ्कलन भएको उनको भनाइ छ । उनका अनुसार कोषमा बिहीबारसम्म औपचारिक क्षेत्रबाट ६७ अर्ब ४१ करोड रुपैयाँ, वैदेशिक रोजगार क्षेत्रबाट तीन अर्ब ६८ करोड रुपैयाँ, अनौपचारिक क्षेत्रबाट ७९ लाख रुपैयाँ र स्वरोजगार क्षेत्रबाट ६१ लाख रुपैयाँ सङ्कलन भएको छ ।
कोषको अनुसार मासिक एक/दुई अर्ब रुपैयाँ योगदान कोषमा सङ्कलन हुँदा वृद्धि देखिएको हो । योगदान रकम पुसमा ७१ अर्ब ९५ करोड, माघमा ७३ अर्ब ८३ करोड रुपैयाँ, फागुनमा ७५ अर्ब ७० करोड रुपैयाँ र चैतमा ६७ अर्ब ८५ करोड रुपैयाँ सङ्कलन भएको हो ।
प्रवक्ता अधिकारीले कोषमा सूचीकृत हुने योगदानकर्ताको संख्यामा वृद्धि भएसँगै योगदान रकममा वृद्धि भएको सामाजिक सुरक्षा कोषले बताएको छ । उनले कोषमा सूचीकृत हुने योगदानकर्ताहरूमध्ये सबैभन्दा धेरै औपचारिक, वैदेशिक, अनौपचारिक र स्वरोजगार रहेको बताए । बिहीबारसम्म कोषमा पाँच लाख ७७ हजार छ सय ६१ जना योगदानकर्ता र २० हजार चार सय सात जना रोजगारदाता सूचीकृत भएका छन् । साथै सोही अवधिमा वैदेशिक रोजगारीमा गएका १५ लाख ९८ हजार दुई सय ५२ जना र औपचारिक क्षेत्रका चार सय ५७ जना र स्वरोजगार क्षेत्रका तीन सय ३२ जना सूचीकृत भएका छन् । उनीहरूबाट उक्त योगदान रकम सङ्कलन भएको हो ।
२०७५ मंसिर ११ गतेदेखि कार्यान्वयनमा आएको सामाजिक सुरक्षा कोषले २०७६ साउन १ गतेदेखि योगदान रकम सङ्कलनको थालनी गरेकोमा हालसम्म उक्त रकम सङ्कलन भएको उनको भनाइ छ । पछिल्लो समय सरकारले स्वदेशका साथै वैदेशिक रोजगारीमा गएका नेपाली श्रमिकलाई कोषमा आबद्धता गरेसँगै सूचीकृत योगदानकर्ता र योगदान रकममा वृद्धि हुनपुगेको हो । कोषले २०८० चैत दोस्रो सातादेखि वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई कोषमा आबद्ध गरेको हो ।
औपचारिक, अनौपचारिकका साथै विदेशमा रहेकालाई कोषमा आबद्ध गराउने रणनीतिका कारण पनि कोष सफल हुँदै गएको बताइन्छ । त्यस्तै, कोषले भदौदेखि सामाजिक सुरक्षा कोषमा अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगारमा रहेका व्यक्तिहरूलाई पनि सूचीकृत गर्ने भएको छ जसले गर्दा योगदानकर्ता, योगदान रकम बढ्न गएको कोषका अधिकारीहरू बताउँछन् । यसअघि औपचारिक क्षेत्रका श्रमिक र वैदेशिक रोजगारमा रहेका व्यक्तिलाई सामाजिक सुरक्षामा जोड्दै आएकोमा दायरा फराकिलो बनाउँदै अनौपचारिक र स्वरोजगारमा रहेका व्यक्ति पनि कोषमा आबद्ध हुनसक्ने व्यवस्था गरिएको हो । अनौपचारिक र स्वरोजगारमा रहेका व्यक्ति कोषमा आबद्ध हुने आउने क्रम चलिरहेको बताइएको छ ।
कोषले स्थापनाकालदेखि सामाजिक सुरक्षा करको व्यवस्थापन गर्दै आएकोमा योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ जारी भएपछि सो ऐनबमोजिम कार्य गर्दै आएको छ । सोही ऐनको दफा १० मा औषधि उपचार तथा स्वास्थ्य सुरक्षा योजना, मातृत्व सुरक्षा योजना, दुर्घटना सुरक्षा योजना, अशक्तता सुरक्षा योजना, वृद्ध अवस्था सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना, बेरोजगार सहायता योजनाका अतिरिक्त कोषले तोकेका अन्य सामाजिक सुरक्षा योजना सञ्चालन गर्नेछ भनी कोषले सञ्चालन गर्नसक्ने सामाजिक सुरक्षा योजनाहरूको दायरा किटान गरिएको हुँदा सोहीअनुरूप काम गर्दै समेत आएको छ । सोही क्रममा कोषले समीक्षा अवधिमा औषधि उपचार, स्वास्थ्य तथा मातृत्व योजनाअन्तर्गत एक अर्ब ८९ करोड पाँच लाख रुपैयाँ, दुर्घटना तथा अशक्तता सुरक्षा योजनाअन्तर्गत १८ करोड ५१ लाख रुपैयाँ, आश्रित परिवार सुरक्षा योजनाअन्तर्गत २२ करोड ६३ लाख रुपैयाँ, वृद्ध अवस्था सुरक्षा योजनाअन्तर्गत ११ अर्ब ८६ करोड १२ लाख रुपैयाँ दाबी गरेका छन् ।
यस्तै, औषधि उपचार, स्वास्थ्य तथा मातृत्व योजनाअन्तर्गत एक लाख एक सय ८९ जना, दुर्घटना तथा अशक्तता सुरक्षा योजनाअन्तर्गत पाँच हजार दुई सय ९७ जना, आश्रित परिवार सुरक्षा योजनाअन्तर्गत छ सय ८५ जना र वृद्ध अवस्था सुरक्षा योजनाअन्तर्गत एक लाख पाँच हजार छ सय ७३ जनाले उक्त रकम दाबी भुक्तानी गरेका हुन् । योसँगै कुल दुई लाख ११ हजार आठ सय ४४ जनालाई १४ अर्ब १६ करोड रुपैयाँ दाबी भुक्तानी गरेका छन् । योजनाअनुरूप दाबी गरिएको रकम कोषले भुक्तानी गर्दै जाने गरेको छ । कोषले भुक्तानीको लागि मापदण्ड पूरा भए/नभएको अध्यययनपछि रकम निकासा गर्ने गर्छ ।
दाबी गरिएको रकम प्रक्रिया बुझेर सहज ढङ्गले भुक्तानी गर्ने कोषले जनाएको छ । योगदानमा आधारित सामाजिक सुरक्षा योजनाअनुसार मासिक पारिश्रमिक भुक्तानी गर्दा आधारभूत पारिश्रमिकको ३१ प्रतिशत रकममध्ये रोजगारदाताको तर्फबाट २० प्रतिशत र श्रमिकको तर्फबाट ११ प्रतिशत योगदान गर्नुपर्ने व्यवस्था छ ।
आर्थिक वर्ष २०७५/७६ मा २४ हजार तीन सय ३० जना, आर्थिक वर्ष २०७६/७७ मा एक लाख ३२ हजार सात सय २२ जना, आर्थिक वर्ष २०७७/७८ मा ३६ हजार २० जना, आर्थिक वर्ष २०७८/७९ मा एक लाख २७ हजार एक हजार १६ जना र गत आर्थिक वर्ष २०८०/८१ मा नौ लाख ७९ हजार एक सय छ जना योगदानकर्ता सूचीकृत भएका थिए । कोषले योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीमा आबद्ध गराउन रोजगारदाता तथा श्रमिकको सूचीकरण गर्ने, योगदान रकम सङ्कलन गर्ने, कोषमा जम्मा भएको रकम परिचालन गर्ने, सुविधा योजनाहरूको दाबी भुक्तानी व्यवस्थापन गर्ने, कोषमा आबद्ध स्वास्थ्य संस्थाहरूको सञ्जाल विस्तार गरी गुणस्तरीय र प्रभावकारी स्वास्थ्य उपचार पद्धतिमा पहुँच स्थापित गर्ने जस्ता कार्यहरू गर्दै आएको छ ।
कोषले गर्ने कार्य सम्पादनलाई प्रविधिमैत्री बनाई छिटो, छरितो र गुणस्तरीय सेवा प्रवाहमा जोड दिने समेत बताएको छ । बैकिङ प्रणलीमार्फत सामाजिक सुरक्षा भत्ता वितरणका लागि तीन सय ९८ वाट स्थानीय तहले बैंकसँग सम्झौता गरी बैंक खातामा भुक्तानी समेत गर्दै आएको पाइन्छ । कोषले अहिले पनि रोजगारदाता, योगदानकर्ता सूचीकृत गर्दै आएको छ । कोषले पछिल्लो समय भने ‘योगदानकर्ता सापटी निर्देशिका २०७९’ स्वीकृत गरी रकम सापटी लिन सक्ने सुविधा प्रदान गरेको थियो ।
‘योगदानकर्ता घर सापटी’अन्तर्गत नयाँ घर निर्माण, आफ्नो स्वामित्वमा रहेको घरको तला थप्न, मर्मत गर्न, संयुक्त आवासमा युनिट खरिद गर्न र घर खरिद गर्ने कार्यमा कोषले सापटी दिने व्यवस्था गरेको छ । शैक्षिक सापटीअन्र्तगत भने कोषमा कम्तीमा ३६ महिना योगदान रकम जम्मा गरेका र उमेर वा सेवा अवधिको आधारमा अनिवार्य अवकास हुन कम्तीमा दुई वर्ष बाँकी रहेका योगदानकर्ताको हकमा शैक्षिक सापटीको व्यवस्था गरिएको छ । २०७५ मंसिर ११ गतेदेखि कार्यान्वयनमा आएको सामाजिक सुरक्षा कोषले २०७६ साउन १ गतेदेखि योगदान रकम सङ्कलनको थालनी गरेको थियो ।