सिन्धुली । सिन्धुलीको दुधौली नगरपालिकाका मेयर दिनेश अधिकारीविरुद्ध बलात्कारको आरोपमा किटानी जाहेरी परेको छ । मेयर अधिकारीले १८ वर्षे एक किशोरीलाई बलात्कार गरेको आरोपमा बिहीवार जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा उजुरी परेको हो ।
गत स्थानीय तहको निर्वाचनमा माओवादीबाट निर्वाचित मेयर अधिकारी बलात्कारको जाहेरी परेसँगै राष्ट्रियसभा अध्यक्ष नारायण दाहाललाई भेट्न काठमाडौं आएको पाइएको छ ।
राष्ट्रियसभा अध्यक्ष दाहालकै जोडबलमा गत स्थानीय तहको निर्वाचनमा दुधौली नगरपालिकाको मेयरमा माओवादीबाट टिकट पाएका अधिकारीले प्रहरीलाई प्रभावमा पार्नका लागि उजुरी पर्ने भएसँगै राष्ट्रियसभा अध्यक्ष दाहाललाई भेट्न काठमाडौं आएको बताइएको छ ।
राष्ट्रियसभा अध्यक्ष दाहालमार्फत प्रहरीलाई उजुरी नलिन दबाब दिएका अधिकारी उजुरी दर्ता भएसँगै फरार भएका छन् । मेयर अधिकारीको घर नजिकैको वेलकम होटलमा काम गर्ने वडा नम्बर ८ निवासी ती १८ वर्षे युवतीलाई नगरप्रमुख अधिकारीले बलात्कार गरेको बताइएको छ ।
माओवादी नेताहरूको दबाब र प्रभावमा केही समयदेखि गुपचुप राखेर प्रहरीलाई समेत किटानी जाहेरी लिन नदिए पनि बलात्कारपछि गर्भवती भएको र सन्तान समेत जन्मिएको भन्दै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएपछि मेयर अधिकारीको कर्तुत सार्वजनिक भएको हो ।
प्रहरीका अनुसार पीडितको उजुरी दर्ता भएपछि मेडिकल परीक्षण, डीएनए जाँचलगायतका अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ भने मेयरलाई आवश्यक अनुसन्धानका लागि पक्राउ गर्ने तयारी भइरहेको छ ।