काठमाडौं । भारत सरकारले नेपाललाई चार लाख डलर मूल्य बराबरको भ्याक्सिन सहयोग गरेको छ । नेपालको थारु समुदायको प्रमुख स्वास्थ्य समस्या सिकलसेल एनिमिया तथा थालसिमियाका बिरामीका लागि निःशुल्क भ्याक्सिन वितरणका लागि भारत सरकारले भ्याक्सिन सहयोग गरेको हो ।
मन्त्रालयमा शुक्रबार आयोजित कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेललाई भ्याक्सिन सहयोग हस्तान्तरण गरेका थिए । मन्त्री प्रदीप पौडेलले भारत सरकारसँग सिकलसेल बिरामीको प्रतिरोधी क्षमता वृद्धिका लागि भ्याक्सिन सहयोग गर्न आग्रह गरेका थिए । थारु समुदायको बाहुल्य रहेको क्षेत्रमा निःशुल्क भ्याक्सिन वितरण प्रक्रिया आरम्भ थालिने भएको छ । मन्त्री पौडेलले थारु समुदायले वंशाणुगतरूपमा समस्या भोग्दै आएको यो रोगको उपचार सहज बनाउन राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा भेरी अस्पताल नेपालगञ्जमा बेग्लै वार्ड स्थापना गराउने निर्णय गरेका थिए । साथै, बिरामीका लागि निःशुल्क प्रतिरोधी औषधि उपलब्ध गराउने घोषणा गरेर सहयोगका लागि भारत सरकारसँग पहल गरेका थिए । भारत भ्रमणका क्रममा त्यहाँका स्वास्थ्यमन्त्री जेपी नड्डासँग समेत यसबारेमा कुराकानी भएको थियो । यसलगत्तै भारत सरकारले बिरामीका लागि उपलब्ध हुने गरी विभिन्न प्रकारका चार लाख डलर मूल्य बराबरको भ्याक्सिन उपलब्ध गराएको हो ।
अब भ्याक्सिन सिकलसेल एनिमिया तथा थालसिमिया प्रभावित क्षेत्रका सरकारी अस्पतालमार्फत वितरण गरिने मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले बताए । थारु समुदाय बहुल बसोबास रहेको बाँके, बर्दिया, कैलाली तथा दाङका बिरामीहरूलाई भ्याक्सिन वितरण गर्ने तयारी मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले गरेको छ । भेरी अस्पताल, सेती प्रादेशिक अस्पताल, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानसँगै टीकापुर अस्पताललगायतका संघीय, प्रदेश तथा पालिकास्तरका अस्पतालमा समेत बिरामीहरूका लागि उपलब्ध गराउने गरी तयारी गरिएको प्रवक्ता बुढाथोकीले बताए । ‘आवश्यकता परेका तथा उपचार हुने सबै ठाउँमा भ्याक्सिन उपलब्ध गराइनेछ,’ उनले भने ।
‘थारु जनसंख्याको प्रमुख स्वास्थ्य समस्या सिकलसेल तथा थालिसिमियाको उपचारका लागि यथासम्भव प्रयास भइरहेको थियो,’ मन्त्री पौडेलले भने, ‘बेग्लै वार्ड स्थापना गरेर उपचारको व्यवस्था गरेका थियौं । अब प्राप्त औषधिले उपचारमा ठूलो राहत पुग्ने आशा छ ।’ मन्त्री पौडेलले थारु समुदायको समस्या समाधानका लागि घोषणा गरिएको छोटो अवधिमै उपचार सहायता र औषधि प्रदानमा मन्त्रालय सफल भएको पनि बताए ।
भारतीय राजदूत श्रीवास्तवले सहयोग दुई देशबीचको आपसी सम्बन्ध विस्तारको एक अंश भएको बताए । भ्याक्सिन प्रभावित क्षेत्रमा उपलब्ध गराउने गरी भण्डारणका लागि स्वास्थ्य सेवा विभागले आपूर्ति व्यवस्थापन केन्द्र बुटवल लुम्बिनीमा पठाइनेछ ।
नेपालका थारु समुदायमा यो वंशाणुगत रोगका रूपमा रहेको छ । यसको हालसम्म औषधि उपलब्ध भइसकेको छैन । तर, यो रोगका कारण बिरामीहरूको प्रतिरोध क्षमता कमजोर भएर निमोनिया, मेनिन्जाइटिसलगायतका रोग लाग्ने जोखिम उच्च रहेकाले जोगिन भ्याक्सिन वितरण गर्ने तयारी सरकारले गरेको हो ।