काठमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु परिवर्तनबाट बालबालिका र युवाहरू प्रभावित भएको बताएका छन् ।
नेपाल सरकार तथा संयुक्त राष्ट्र संघ नेपालको संयुक्त आयोजनामा भएको ‘वायु संवादः नेपालको जलवायु मुद्दाको केन्द्रमा बालबालिका तथा युवा’ कार्यक्रममा उनले जलवायु परिवर्तनका कारण बालबालिका तथा युवाहरूको स्वच्छ जीवन, स्वच्छ हावा, स्वच्छ पानी र हरियाली वतावरणमा बाँच्न पाउने अधिकार हनन् भएको बताए । जलवायु परिवर्तनले पारेको असरबारे सरकारले पैरवी र बहस तथा न्यूनीकरणमा निरन्तर प्रयासरत रहेको उनको भनाइ थियो । कार्यक्रममा वन तथा वातावरण मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्रले बालबालिका र युवामा लगानी गर्नुपर्ने बताए । उनले भने, ‘बालबालिका र युवा नै हाम्रा सम्पत्ति हुन् । ती सम्पत्तिलाई उग्रने र उम्रिने मौका सिर्जना गर्नुपर्ने आवश्यकता छ । बालबालिका तथा युवामा लगानी गरौँ । जलवायु परिवर्तन बारे बुझौँ आत्मसाथ गरौँ । संकट न्यूनीकरणमा सबैले काम गरौँ ।’
नेपालका लागि संयुक्त राष्ट्र संघका कार्यवाहक आवसीय संयोजक एलिस अकुङ्गाले सबै बालबालिकाले सुरक्षित र स्वस्थ वातावरणमा हुर्किन पाउने अधिकार राख्नुपर्ने धारणा राखे ।