काठमाडौं । यदि शिक्षामा नियमितरूपको सहजता थियो भने यतिबेला देशैभर कक्षा १२ को परीक्षा चलिरहेको हुने थियो । तर ११ गते यो परीक्षाको नियमित कार्यतालिका हो तर जब यो दिन आयो अनि सरकारले त्यसलाई सारेर २१ गतेका लागि तोक्यो । शिक्षक आन्दोलन जारी रहेकाले यो दिन पनि हुन्छ हुँदैन भन्ने अन्योलमा नै छ । त्यस्तै, केही पहिले सम्पन्न भएको एसईईको परीक्षाका उत्तरपुस्तिका पनि जाँच्ने समय यही हो । त्यो पनि रोकिएको छ । त्यति मात्र होइन यो चलिरहेको वैशाख महिना देशभरकै विद्यालयमा नयाँ भर्नाको समय हो ।
शिक्षकका आन्दोलनले गर्दा विद्यालयमा नयाँ भर्नाको समय पनि टर्दै गएको छ । यो कुनै तहको विद्यार्थीको मात्र होइन समग्र अभिभावककै पिरलोको विषय हो । यसले आउँदो वर्षको शैक्षिक तालिका नै गडबडमा पार्ने निश्चित हुँदै गएको छ । यसले फेरि एकपटक सामुदायिक विद्यालयको व्यवस्थापनमाथि समेत गम्भीर प्रश्न खडा हुन्छ । यो आन्दोलन पठनपाठन सुधारका सन्दर्भमा होइन शिक्षकको सेवासुविधामा मात्रै केन्द्रित रहेको अवस्थाले पनि सामुदायिक क्षेत्रका शैक्षिक वातावरणलाई झनै गम्भीर बनाएको हुनुपर्छ ।
यो आन्दोलनको सबैभन्दा नोक्सानी के हो भने परीक्षाको मुखमा रहेका विद्यार्थीहरू ठूलो मानसिक तनाबमा पर्नु । १२ को परीक्षा अन्योलमा परेपछि यसको तयारीमा रहेका पाँच लाख विद्यार्थीहरू ठूलो मानसिक तनावमा पर्न थालेको भनेर सामाजिक सञ्जालमा फैलिन थालेका छन् । त्यसलाई हेर्दा मात्रै पनि स्थिति निकै विकराल रहेको देखिन्छ । कम्तीमा यो परीक्षाका लागि तयार रहेका विद्यार्थीहरूले सामाजिक सञ्जालमा जसरी आक्रोश व्यक्त गरिरहेका छन्, त्यसले देश ठूलो शैक्षिक अराजकतामा परेको बुझाउँछ । सञ्जालमा यसरी आक्रोश व्यक्त भइरहेका छन् । सबैलाई थाहा भइरहकै कुरा हो, वैशाख १२ गतेबाट १२ कक्षाको परीक्षा हुनुपर्ने हो । उनीहरू भन्छन् ‘हामी फ्रस्टेड भइसक्यौँ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको बोली मात्रै बिक्ने हो ? आफ्ना इच्छाले कहिले परीक्षा हुन्छ, कहिले फेरि स्थगित भयो भनेको छ । अब हामी विद्यार्थी सबै सडकमा आउनुपर्ने हो ? पाँच लाख विद्यार्थीले संसद् भवन नै घेराऊ गर्नुपर्ने हो ? विद्यार्थीको दिमाग नै लथालिङ्ग भइसक्यो । हामीले परीक्षाको तयारी गरिरहेका छौँ । भोलि नै परीक्षा भए पनि हामी तयारी अवस्थामा छौँ । तर परीक्षा हुन्छ कि हुँदैन ? प्रधानमन्त्रीले फिक्स गर्दिनुपर्यो । कहिले परीक्षा सर्छ भनेको छ, कहिले सर्दैन भनेको छ । के हुँदैछ नेपालमा ? नेपाल देश, देशजस्तो छैन । नेपाली नै रहन्छ वा रहँदैनजस्तो भइसक्यो ।’
वास्तवमा नै विद्यार्थीले भनेजस्तै स्थिति धेरै अन्योलमा नै छ । भर्खरै अदालतले पनि या समस्या तीनदिनभित्र मिलाउन भनेर सरकार र आन्दोलनकारीलाई निर्देशन दिइसकेको छ । तर त्यसको पनि पालना भएको देखिएन । शिक्षकजस्तो शिक्षित समुदायले नै अदालतको आदेश ठाडोरूपले उल्लङ्घन गरेको अवस्था सामान्य होइन । अदालतले शिक्षकलाई तीन दिनभित्र पठनपाठनमा फर्किन र देशभरका बालबालिकालाई नियमतरूपमा विद्यालयमा पठनपाठन गर्न पाउने हकबाट बञ्चित नगर्नू÷नगराउनू, तत्काल आवश्यक र उपयुक्त प्रबन्ध गरी आन्दोलनरत शिक्षकका कारण) माध्यमिक शिक्षा परीक्षा (एसइई) बोर्डको परीक्षाफल समयमा प्रकाशन हुन नसक्ने अवस्था सिर्जना हुन नदिनू, शिक्षक आन्दोलनका कारण कक्षा १२ को बोर्डको परीक्षा समयमा नभई लाखौं विद्यार्थीको भविष्य अन्योलमा पर्ने जोखिम रहेको देखिँदा उक्त परीक्षा तोकिएको समयमा नै गर्ने, परीक्षा नसार्ने÷सार्न नलगाउने भनेर आदेश दिएको छ । तर यसको पालना भएन । जिम्मेवार तहले यस्तो जटिल अवस्थाबाट देशलाई यथाशीघ्र छिटै मुक्ति दिइयोस् ।