काठमाडौं । बिभिन्न मागहरु राखेर आन्दोलनरत शिक्षक र प्रहरीबीच नयाँ बानेश्वरमा झडप भएको छ । आइतबार बिजुलीबजार नयाँबानेश्वर सडक खण्डमा भेला भएर प्रर्दशनमा उत्रिएका शिक्षकहरुले निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि प्रहरीले उनीहरुलाई रोकेको थियो । प्रहरीको अबरोधपछि आक्रोषित भएका शिक्षकले ढुंगामुढा गरेपछि दुईपक्षबीच झडप भएको थियो । प्रहरीले भिड तितर बितर पार्न पानीको फोहोरा हानेको थियो । शिक्षकहरुको शान्तिपूर्ण आन्दोलन एक्कासी झडपमा परिणत भएपछि त्यसमा घुसपेट भएको हुनसक्ने आशंका समेत गरिएको छ ।
शिक्षक र कर्मचारीमैत्री ऐन जारी गर्न माग गर्दै शिक्षकहरुले गत चैत २० गतेदेखि काठमाडौं केन्द्रित आन्दोलन गर्दै आएका छन् । उनीहरुले चैत २५ गतेदेखि शैक्षिक आमहड्ताल घोषणा समेत गरेका छन् । यसबीचमा शिक्षक र सरकारका प्रतिनिधिबीच सहमतिको प्रयास भए पनि सहमति जुट्न सकेको छैन ।