काठमाडौं । विश्वव्यापी मोबिलिटी र अर्बन सर्भिसेस प्लेटफर्म, इनड्राइभले चालक साझेदारहरूको सशक्तीकरण र सामुदायिक संलग्नतालाई थप मबजुत बनाउन ‘द बेटर ड्राइभः इनिसिएटिभ, मनी, माइन्ड, म्यानर’ शीर्षकमा सत्र आयोजना गरेको छ ।
कार्यक्रममा आर्थिक साक्षरता, मानसिक स्वास्थ्य र कल्याणका साथै शिष्ट व्यवहार र व्यावसायिक सेवाको महत्वजस्ता महत्वपूर्ण विषयहरू समेटिएका थिए । सत्रको मूल उद्देश्य सुरक्षित, पेशागत र मैत्रीपूर्ण सवारी प्रणाली निर्माणमा चालक साझेदारलाई आवश्यक ज्ञान, सिप र मनोबल प्रदान गर्नु रहेको थियो । कार्यक्रममा सहभागी चालकहरूलाई वित्तीय योजना, सडक सुरक्षासम्बन्धी सावधानी, मानसिक स्वास्थ्य व्यवस्थापन र उत्कृष्ट ग्राहक सेवाजस्ता पक्षमा सेसन पनि दिइएको थियो । इनड्राइभले केवल रोजगारीका अवसरहरू प्रदान गर्ने मात्र नभई, आफ्ना चालक साझेदारहरूको समग्र हित, सशक्तीकरण र दीर्घकालीन पेसागत विकासप्रति प्रतिबद्धता जनाउँदै आएको छ ।
सहभागी चालकहरूलाई ट्राफिक प्रहरीका प्रतिनिधिहरूले सडकमा सुरक्षित रहनुपर्ने अनिवार्यता र नियमहरूको पालना गर्नुपर्ने महत्वका बारेमा जानकारी गराएका थिए भने आईएमई–पेका चिफ ग्रोथ अफिसर सञ्जीव न्यौपानेले दिगो आर्थिक व्यवस्थापन, बचत, लगानी तथा डिजिटल वित्तीय उपकरणहरूको उपयोगबारे व्यावहारिक ज्ञान प्रदान गरेका थिए । यस्तै, ह्याप्पी माइन्सकी संस्थापक श्रेया गिरीले मानसिक स्वास्थ्यको महत्व, तनाव व्यवस्थापन तथा सकारात्मक सोचले व्यक्तिगत र व्यावसायिक जीवनमा पार्ने प्रभावबारे जानकारी गराएकी थिइन् ।
कार्यक्रममा इनड्राइभले आगामी दिनमा लागू गर्न लागेको समुदाय, केन्द्रित पहलहरू, चालकहितमैत्री मूल्य निर्धारण प्रणाली तथा सेवा सुधार योजनाको बारेमा समेत विस्तृत जानकारी गराएको थियो । कार्यक्रममा समावेश विषयवस्तुले चालक साझेदारहरूको बहुआयामिक विकासमा टेवा पुर्याउने गरी ज्ञान, सिप र मनोबल अभिवृद्धि गर्ने उद्देश्य राखिएको थियो । इनड्राइभका एसिया प्यासेफिक रिजनका रिजनल डाइरेक्टर मार्क टलीले इनड्राइभमा चालक साझेदारहरूको सशक्तीकरण केबल प्रविधिको माध्यममा सीमित नभएर मानव कल्याण, सुरक्षाको प्रत्याभूति, आर्थिक सुदृढता, मानसिक स्वास्थ्यको संरक्षण र उत्कृष्ट सेवा मापदण्डहरूको विकाससँग प्रत्यक्षरूपमा जोडिएको बताए । द बेटर ड्राइभः इनिसिएटिभ, मनि, माइन्ड, म्यानर’ कार्यक्रममार्फत नेपालमा उत्तरदायी, दिगो र समावेशी मोबिलिटी इकोसिस्टमको आधार निर्माण गर्ने कम्पनीको प्रतिबद्धतालाई अझ बलियो बनाएको उनको दाबी छ ।