वासिङ्टन डिसी । विकासोन्मुख मुलुकहरूले यथाशीघ्र संयुक्त राज्य अमेरिकासँग व्यापार सम्झौता गर्नुपर्नेमा विश्व बैंकले जोड दिएको छ । यस वर्ष राष्ट्रपति डोनाल्ड ट्रम्पको कर कार्यान्वयन घोषणालाई अस्थायीरूपमा गर्ने निर्णयपछिको अनिश्चितताको बादलमा आयोजित विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वसन्त बैठकपूर्व लिएको अन्तर्वार्तामा विश्व बैंकका अध्यक्ष अजय बङ्गाको यस्तो भनाइ आएको हो ।
‘बैंकले विकासशील देशहरूलाई अमेरिकासँग छिटो सम्झौता गर्न र त्यसपछि व्यापार अवरोधहरू कम गर्न र वस्तुहरूको क्षेत्रीय प्रवाह बढाउन ध्यान केन्द्रित गर्न सल्लाह दिइरहेको छ,’ बङ्गाले भने, ‘अमेरिकासँग जतिसक्दो चाँडो व्यापार प्रणालीका लागि वार्ता गर्न आवश्यक छ । यदि ढिलो गरियो भने यसले सबैलाई दुःख दिन्छ ।’
ट्रम्पको करले वित्तीय बजारलाई तहसनहस बनाएको छ, अस्थिरता बढाएको छ र लगानीकर्ता र उपभोक्तालाई त्रसित बनाएको छ ।
जनवरीमा सत्तामा फर्केपछि अमेरिकी राष्ट्रपति ट्रम्पले अधिकांश देशहरूमा ‘न्यूनतम (आधारभूत)’ १० प्रतिशत कर लागू गरेका छन् । अमेरिकाले चीनमा भने योभन्दा निकै धेरै कर लगाएको छ । अमेरिकाले स्टिल, एल्युमिनियम र संयुक्त राज्य अमेरिकामा निर्माण नगरिएका सवारीसाधन (कार) लगायतका क्षेत्रहरूमा २५ प्रतिशत क्षेत्र–विशेष कर लगाइएको छ ।
राष्ट्रपति ट्रम्पले अमेरिकासँग अनुचित व्यापार सन्तुलन भएको आरोप लगाउँदै दर्जनौँ देशहरूमा धेरै उच्च दरमा करहरू लागू गरेका थिए । त्यसमध्ये अधिकांश निर्णयलाई अस्थायीरूपमा रोकिएको छ ।
बङ्गाले भने, ‘बैंकको कार्यकारी बोर्डले जुनमा आफ्नो ऊर्जा रणनीतिमा छलफल गर्ने तयारी गरेको छ । सम्भवतः आणविक र ग्यास दुवैका लागि वित्तपोषण एजेन्डामा हुनेछ ।’
बङ्गाले भने, ‘केवल सम्पन्न अर्थव्यवस्थाहरूबाट रोजगारीको अवसर खोज्ने मात्र नभई बैंकले विकासशील देशहरूमा ठूलो निजी क्षेत्रको रोजगारी सिर्जनालाई प्रोत्साहित गर्न पनि जोड दिइरहेको छ । यसले विकासशील (उन्नत अर्थव्यवस्था)मा चुनौतीहरूको सामना गर्न र समस्या पहिल्याउन मानिसहरूले उनीहरूको बारेमा आफ्नो राय राखिरहेका छन् । रासस/एएफपी