काठमाडौं । प्रदेश जनस्वास्थ्य प्रयोगशाला धनुषाले मधेस प्रदेशका ६४ वटा स्थानीय तहमा जनस्वास्थ्य प्रयोगशाला (निदान केन्द्र) लागि आर्थिक वर्ष २०७८/०७९ मा स्वास्थ्य सामग्री खरिद, आपूर्ति र जडान कार्यको ठेक्कामा मिलेमतो गरी भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामाजिक विकास मन्त्रालयका तत्कालीन सचिव इमनारायण श्रेष्ठसहित १४ जनाविरुद्ध आइतबार विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
हस्पिटेक इन्टरप्राइजेज प्रालि तीनकुने काठमाडौं तथा उक्त कम्पनीको सञ्चालक विशाल पण्डितसँगको मिलेमतोमा १९ करोड ४६ लाख १३ हजार एक सय २० रुपैयाँ भ्रष्टाचार गरेको भन्दै सचिव श्रेष्ठसहित १३ जना सरकारी कर्मचारी र कम्पनीका सञ्चालक पण्डितविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो । पण्डितलाई मुख्य कसुरदारसरह सजाय गरी बिगो असुलउपर हुन माग गर्दै मुद्दा दायर गरिएको हो ।
अख्तियारका अनुसार प्रदेश जनस्वास्थ्य प्रयोगशालाका लेखा अधिकृत नबिन दास र तत्कालीन वरिष्ठ स्वास्थ्य प्रशासक मुक्तिनारायण साह, प्रदेश जनस्वास्थ्य प्रयोगशाला जनकपुरधामका तत्कालीन निर्देशक डा. श्रवणकुमार मिश्र, प्रदेश जनस्वास्थ्य प्रयोगशालााका वरिष्ठ ल्याब टेक्निसियन निरीक्षक गुणानन्दप्रसाद साह, मेडिकल ल्याब टेक्नोलोजिस्ट मनमोहन मिश्र र ल्याब टेक्निसियन निरीक्षक राम उदगार यादवविरुद्ध पनि मुद्दा दायर गरिएको छ ।
यस्तै, प्रदेश जनस्वास्थ्य प्रयोगशाला जनकपुरधामका माइक्रोबायोलोजिस्ट (अधिकृत नवौँ) जितेन्द्रकुमार साह, माइक्रोबायोलोजिस्ट (अधिकृत नवौँ) अमरेन्द्रकुमार मिश्र, ल्याब असिस्टेन्ट (चौथो तह) रमेशकुमार मण्डल, लेखा अधिकृत (छैटौँ) अमरदीप महतो, ल्याब असिस्टेन्ट कर्मशीलप्रसाद गोप र वरिष्ठ ल्याब अधिकृत उमेश चौधरीविरद्ध पनि १९ करोड ४६ लाख १३ हजार एक सय २० रुपैयाँ भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर गरिएको छ ।
हस्पिटेक इन्टरप्राइजेज प्रालिको प्राविधिक स्पेशिफिकेसन प्रयोग गरेर प्रदेश जनस्वास्थ्य प्रयोगशालाले आपसी मिलेमतोमा स्पेसिफिकेसन तयार गरी प्रतिस्पर्धा समिति गरेको अख्तियारको दाबी छ ।
अख्तियारका अनुसार प्रदेश जनस्वास्थ्य प्रयोगशालाले ठेक्का सम्झौता गर्ने हस्पिटेक इन्टरप्राइजेज प्रालिका सञ्चालक विशाल पण्डितकी पत्नी सञ्चालक रहेको कस्तुरी ट्रेड लिंक प्रालि काठमाडौं, ससुरा संस्थापक रहेको मेडी सोलुसन इन्टरनेसनल प्रालि काठमाडौं र दाजुले बिक्री गरेको लाइफलाइन ट्रेड इन्टरनेसनल प्रालि ललितपुरसँग दररेट लिई केही रकम मात्र फरक पारी लागत अनुमान तयार गरी प्रदेश जनस्वास्थ्य प्रयोगशाला, जनकपुरधामले बोलापत्रदाता हस्पिटेक इन्टरप्राइजेज प्रालिका सञ्चालक विशाल पण्डितसँगको मिलेमतोमा गैरकानुनी लाभ उठाउने बदनियतले पूर्वनियोजित योजनाबमोजिम नै एउटै परिवार वा नोतदारहरूकै फर्मबाट दररेट लिएको अख्तियारको दाबी छ ।
अख्तियारका अनुसार तत्कालीन समयमा कुनै विशेष परिस्थिति नहुँदा नहुँदै गैरकानुनी लाभ लिन सार्वजनिक खरिद ऐन र नियमावलीको विशेष परिस्थितिसम्बन्धी कानुनी प्रावधानको चरम दुरुपयोग गरी खरिदकार्यमा बदनियत राखी गतल आधार देखाई ३० दिने म्यादलाई १५ दिनको म्याद राखी बोलपत्रको सूचना प्रकाशन गरेको, बोलपत्रदाताले २०७९ साल वैशाख २९ गते नै प्रदेश जनस्वास्थ्य प्रयोगशालाबाट माग गरेबमोजिमको संख्या अर्थात् ६४ मा नै खरिद गर्न अर्डर दिई आपूर्ति गर्न तयारी अवस्थामा बसेको पाइएको, यसरी बेलापत्रसम्बन्धी कागजातमा पाँच दिनभित्र सामान उपलब्ध गराउनुपर्ने प्रावधान राखेको देखिएकोले खरिद प्रक्रियामा अन्य फर्महरूलाई सहभागी हुन नदिने र बोलपत्रमा उल्लिखितबमोजिमको उपकरणहरू ठैठारीको लागि तयार भइसकेको हस्पिटेक इन्टरपाइजेज प्रालिलाई नै अनुकूल हुनेगरी २०७९ साल जेठ २३ गते बोलपत्र पेस गर्न बदनियतपूर्ण सूचना आह्वान गरेको अख्तियारको दाबी छ ।