कुनै पनि क्षेत्रको पूर्वाधार विकासको प्रमुख साधन भनेको मानव श्रम हो । मानव श्रमले नै सबै क्षेत्रलाई गति दिन्छ । यस अर्थमा श्रमशक्तिविना कुनै पनि क्षेत्रको विकास र विस्तार सम्भव छैन । अर्थात् श्रमविना कुनै पनि क्षेत्रको विकासको कल्पना पनि गर्न सकिँदैन । श्रमविना कुनै पनि मुलुकको दिगो आर्थिक विकास र समृद्धि हासिल गर्न सक्दैन । तर नेपालको श्रमशक्ति अर्थात् श्रम बजारको कुरा गर्दा यहाँको श्रमशक्ति निकै कमजोर छ । नेपालको श्रम बजार हालको समयमा धेरै कारणले प्रभावित भइरहेको छ । देशको सामाजिक, आर्थिक र राजनीतिक परिवेशले श्रम बजारको संरचना र प्रवृत्तिमा ठूलो भूमिका खेलिरहेको छ । कृषिमा आधारित अर्थतन्त्र, उच्च बेरोजगारी दर र वैदेशिक रोजगारीतर्फको निर्भरता नेपालको श्रम बजारका विशेषताहरू हुन् ।
नेपालमा कार्यशील जनसंख्याको ठूलो हिस्सा १५ देखि ५९ वर्ष उमेर समूहमा पर्छ । तर, पर्याप्त रोजगारीको अभावले गर्दा ठूलो संख्यामा युवा विदेशिन बाध्य भएका छन् । कृषि क्षेत्रमा अझै पनि ६० प्रतिशतभन्दा बढी जनशक्ति संलग्न छन् । तर यसको उत्पादकता न्यून रहेको छ । उद्योग र सेवा क्षेत्र विस्तार हुँदै गए पनि तिनीहरूले आवश्यक मात्रामा रोजगारी सिर्जना गर्न सकेका छैनन् । अहिले पनि नेपालमा बेरोजगारी दर आधिकारिकरूपमा करिब ११ प्रतिशतको हाराहारीमा छ । तर अर्ध–बेरोजगारी भने धेरै रहेको छ । धेरै युवा अनौपचारिक क्षेत्र वा अल्पकालीन काममा संलग्न छन्, जसले दीर्घकालीन रोजगारी सुरक्षाको ग्यारेन्टी गर्दैन ।
हरेक वर्ष लाखौँ नेपाली युवा रोजगारीको खोजीमा खाडी मुलुक, मलेसिया, कोरिया र अन्य देशमा जाने गर्छन् । रेमिटेन्स (विदेशी आम्दानी) नेपालको कुल राष्ट्रिय आम्दानीको एक प्रमुख स्रोत बनेको छ । तर, यसले दीर्घकालीन श्रम बजार विकासमा अवरोध पुर्याउने खतरा पनि बोकेको छ । महिला श्रमिकको सहभागिता दर पनि पछिल्लो दशकमा बढ्दो छ । तर अझै पनि औपचारिक क्षेत्रभित्र उनीहरूको प्रतिनिधित्व न्यून रहेको छ । घरायसी काम, कृषि र अनौपचारिक सेवा क्षेत्रमा उनीहरूको सहभागिता उच्च भए पनि तलब, सुरक्षा र अवसरको दृष्टिकोणले पछाडि पारिएको अवस्था छ । पछिल्लो समय डिजिटल प्रविधिको विकासले विश्वव्यापी श्रम बजारमा परिवर्तन ल्याइरहेको छ । तर नेपालमा यो प्रभाव तुलनात्मकरूपमा ढिलो अनुभव भइरहेको छ । सूचना प्रविधि (आईटी), ई–कमर्स र अनलाइन सेवा क्षेत्रमा केही नयाँ अवसर सिर्जना भएका छन् । तर, डिजिटल सिपको अभावले धेरै नेपाली श्रमिकहरूलाई यस्ता क्षेत्रमा समावेश हुन कठिन बनाइरहेको छ । युवा पुस्तालाई डिजिटल सिपमा तालिम दिन सकिएमा घरेलु तथा अन्तर्राष्ट्रिय अनलाइन बजारमा काम गर्ने सम्भावना छ । नेपालको शिक्षाले अझै पनि प्राविधिक सिप र व्यावसायिक तालिमभन्दा सैद्धान्तिक ज्ञानमा बढी जोड दिइरहेको छ । फलस्वरूप, शिक्षित बेरोजगारहरूको संख्या बढ्दै गएको छ । सिपमा आधारित शिक्षा नहुँदा युवाहरू श्रम बजारको मागअनुसार रोजगारी पाउन सकिरहेका छैनन् । यसको लागि सिपमूलक तालिम केन्द्रहरूको सञ्जाल विस्तार गर्नुपर्छ । कार्यस्थलमै तालिम र उद्योग–शिक्षा सहकार्य प्रणाली विकास गर्नु आवश्यक छ ।
नेपालको श्रम बजारको कुरा गर्दा यहाँ श्रमिक अधिकार र सुरक्षाको अवस्था निकै कमजोर रहेको छ । नेपालमा औपचारिक क्षेत्रभन्दा अनौपचारिक क्षेत्रमा बढी श्रमिक कार्यरत रहेका छन् । अनौपचारिक क्षेत्रका श्रमिकहरू श्रम अधिकार, न्यूनतम तलब, स्वास्थ्य सुरक्षा, बीमा र सामाजिक सुरक्षाबाट बञ्चित रहेका छन् । श्रम ऐनको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । अर्कोतर्फ मजदुर संघ–संस्थाहरूको पहुँच अझै पनि सीमित क्षेत्रसम्म मात्र सीमित रहेको छ । यो अवस्थामा सुधार ल्याउनको लागि श्रम निरीक्षण प्रणाली सुदृढ बनाउनु आवश्यक छ । सबै श्रमिकलाई सामाजिक सुरक्षा कोषमा समावेश गर्ने कार्यक्रमलाई व्यापक बनाउनुपर्छ । श्रम बजारमा उद्यमशीलताको भूमिका पनि निकै ठूलो रहेको छ । रोजगारीको विकल्पका रूपमा स्वरोजगार र साना व्यवसायको प्रवद्र्धन महत्वपूर्ण हुँदै गएको छ । युवाहरूबीच उद्यमशीलताको आकर्षण बढ्दो छ । तर पूँजी, तालिम, र बजार पहुँचको अभावले गर्दा यस्ता प्रयासहरू दीर्घकालीन हुन सक्दैनन् । यस्तो अवस्थामा स्टार्टअप इन्क्युबेटर, उद्यमशीलता तालिम र सस्तो कर्जा सुविधाको व्यवस्था गर्नुपर्छ । यसको लागि कृषिमा आधारित उद्योगहरू (एग्रो–प्रोसेसिङ, अग्र्यानिक उत्पादन, आदिको प्रशोधन) प्रवद्र्धन गर्न सकिन्छ । नेपालको श्रम बजारमा जातीय, लैङ्गिक र भौगोलिक असमानता देखिन्छ । ग्रामीण क्षेत्रमा रोजगारको अवसर कम हुनु तथा महिलाहरू र दलित समुदायले न्यून पारिश्रमिक र कमजोर सुरक्षाको सामना गर्नु परिरहेको छ । यो अवस्थालाई न्यूनीकरण गर्नका लागि समान अवसर सुनिश्चित गर्ने नीति निर्माणमा प्राथमिकता दिनुपर्छ । पिछडिएको समुदायलाई लक्षित गर्दै सशक्तीकरण कार्यक्रम लागू गर्नुपर्छ ।
नेपालको श्रम बजारमा सुधार ल्याउनका लागि दीर्घकालीन नीति निर्माण, प्राविधिक र व्यावसायिक शिक्षाको प्रवद्र्धन, उद्यमशीलताको विकास र श्रमिकको अधिकार सुनिश्चित गर्नुपर्छ । सरकारले रोजगारी सिर्जना गर्ने परियोजनाहरू अघि बढाउनुका साथै निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्ने आवश्यकता छ । अहिले नेपालको श्रम बजार रूपान्तरणको चरणमा रहेको छ । यदि दक्ष जनशक्ति उत्पादन, स्वरोजगार प्रवद्र्धन र वैदेशिक रोजगारीको सट्टा स्वदेशमै रोजगारी सिर्जनातर्फ केन्द्रित गरियो भने दीर्घकालीन आर्थिक स्थायित्व सम्भव छ । त्यसका लागि सरकार, निजी क्षेत्र र नागरिक समाजबीच समन्वय आवश्यक रहेको छ । नेपालको श्रम बजारलाई सन्तुलित, समावेशी र दिगो बनाउने हो भने हामीले दीर्घकालीन सोच, नीतिगत प्रतिबद्धता र सबै सरोकारवालाबीचको सहकार्य आवश्यक छ । वैदेशिक रोजगारीलाई मात्र भर नपरी, स्वदेशमै रोजगारी सिर्जना गर्ने रणनीति अवलम्बन गर्नुपर्ने समय आएको छ । नेपालको भविष्यका लागि सबल, सिपयुक्त र सशक्त श्रमशक्ति निर्माण गर्नु अबको आवश्यकता रहेको छ । यो आवश्यकता पूरा गर्नका लागि राज्यले दक्ष र दिगो जनशक्ति उत्पादन गर्ने नीति तथा कार्यक्रम ल्याई त्यसको प्रभावकारीरूपमा कार्यान्वयन गर्नुपर्छ । यहाँको स्रोत र साधनको उच्चतम उपयोगको लागि यहाँको दक्ष, अर्धदक्ष र अदक्ष जनशक्तिलाई यहाँकै विकास र समृद्धिमा लगाउन सक्नुपर्छ ।