काठमाडौं । सान्भी इनर्जी लिमिटेडको साधारण सेयरको बिक्री खुला भएको छ । कम्पनीले शुक्रबारबाट पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि साधारण सेयरको बिक्री खुला गरेको हो । प्रतिकित्ता एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी आठ करोड ८० लाख रुपैयाँ आयोजना प्रभावित क्षेत्रका जनताको लागि र दुई करोड ९१ लाख रुपैयाँ बराबरको दुई लाख ९१ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरिएको कम्पनीले जानकारी दिएको छ ।
कम्पनीका अनुसार आयोजना प्रभावितका लागि निष्काशन गरिएको सेयरमा इलाम नगरपालिका वडा नम्बर १०, माईजोगमाई गाउँपालिका वडा नम्बर १, ३ र ४, सूर्योदय नगरपालिका वडा नम्बर १० र ११ का स्थानीय बासिन्दाहरूले आवेदन दिन सक्नेछन् । यसमा आवेदन दिँदा घटीमा १० कित्ताका लागि र बढीमा २० हजार कित्तासम्म माग गर्न सकिनेछ । यसमा आवेदन दिने अन्तिम मिति वैशाख १९ गतेसम्म रहेको छ । आयोजना प्रभावितबाट पूर्ण आवेदन नपरेमा जेठ ३ गतेसम्म बिक्री अवधि लम्बिने छ भने वैदेशिक रोजगारीमा रहेको अवधि लम्बिने छैन । कम्पनीको साधारण सेयरको निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ ।