इनरूवा (सुनसरी) । गएराति सुनसरीमा आएको हावाहुरी र वर्षाले मकैखेती र आँपखेतीमा ठूलो क्षति भएको छ । सुनसरी सदरमुकाम इनरूवासहित देवागञ्ज, भोक्राहा, बराहक्षेत्र, हरिनगरलगायतका क्षेत्रमा गरिएको मकैखेती र आँपखेतीमा क्षति पुगेको हो ।
कृषि ज्ञान केन्द्र इनरूवा सुनसरीका प्रमुख नीलकमल सिंहका अनुसार जिल्लाको विभिन्न ठाउँमा सघन र व्यावसायिक रूपमा मकैखेती गरिँदै आइएको छ । भित्र्याउने बेलामा हावाहुरीसँगै वर्षाले मकैखेतीमा क्षति पुर्याएको छ । उनले मकै भित्र्याउने बेलामा हावाहुरी र वर्षाले बिरूवा खेतमै रहेको, मकैमा लागेको फूल झरेको, फलसमेत खसेका कारणले ठूलो नोक्सानी भएको बताएका छन् ।
त्यस्तै आँपमा चिचिला लागेका बेलामा हावाहुरीसहित आएको पानी र चट्याङबाट नोक्सानी भएको उनले बताए । त्यसैगरी, लौका, काँक्रा, करेला, परवल, बोडीलगायत लहरे तरकारी बालीमा पनि क्षति भएको कृषि ज्ञान केन्द्र इनरूवा सुनसरीले जनाएको छ ।
कृषि ज्ञान केन्द्र इनरूवा सुनसरीका प्रमुख सिंहले गएराति हावाहुरीसँगैको वर्षाका कारणले सुनसरीमा कृषि क्षेत्रमा भएको क्षतिको तथ्याङ्क सङ्कलन गर्ने कार्य भइरहेको बताए ।