काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘हायर पर्चेज कर्जा दिने कम्पनीलाई स्वीकृति दिने नीतिगत एवं प्रक्रियागत व्यवस्था, २०७० (पाँचौँ संशोधन २०८२)’ संशोधन प्रस्तुत गरेको छ । हायर पर्चेज कर्जा दिने कम्पनीहरूको नाममा सूचना जारी गर्दै संशोधित व्यवस्था लागू गर्न निर्देशन दिएको छ ।
नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ७६ बमोजिम केन्द्रीय बैंकबाट स्वीकृति लिई हायर पर्चेज कर्जा मात्र दिने कम्पनीहरूको हकमा लागू हुनेगरी त्यस्तो हायर पर्चेज कर्जा दिन स्वीकृति दिने सम्बन्धमा यो व्यवस्था लागू गरेको छ । राष्ट्र बैंकका अनुसार यो व्यवस्थाअनुसार हायर पर्चेज कर्जा दिने कम्पनीको न्यूनतम चुक्ता पुँजी (साधारण सेयर) ३० करोड हुनुपर्नेछ । हायर पर्चेज कर्जा दिने कम्पनीले स्वीकृतिका लागि निवेदन पेस गर्दा चुक्ता पुँजीको शून्य दशमलव दुई प्रतिशतले हुने रकमबराबर स्वीकृति दस्तुर (फिर्ता नहुने) राष्ट्र बैंकमा बुझाएको भौचरसहित निवेदन दिनुपर्नेछ ।
हायर पर्चेज कर्जा दिन स्वीकृतिका लागि कम्पनीले राष्ट्र बैंकसमक्ष निवेदन दिँदा कम्पनीको सञ्चालक समितिले नेपाल राष्ट्र बैंकले समय समयमा तोकिदिएबमोजिमको न्यूनतम चुक्ता पुँजी कायम राख्ने बेहोरा, कारोबार सञ्चालन गर्न आवश्यक पूर्वाधार तयार गरी सेवा तथा सुविधा प्रदान गर्नसक्ने पर्याप्त आधार रहेको बेहोरा र हायर पर्चेज कर्जा दिनका लागि नेपाल राष्ट्र बैंकले तोकेका सर्तहरू पालना गर्ने मन्जुरीनामा समेत पेस गर्नुपर्नेछ । राष्ट्र बैंकका अनुसार हायर पर्चेज कर्जा दिने कम्पनीले कुनै पनि किसिमले निक्षेप वा बचत सङ्कलन गर्न पाउने छैन ।