लुम्बिनी (मर्चवार) । पर्यटक सेवा सुधार गर्ने उद्देश्यले ल्याइएको लुम्बिनी विकास कोषको अत्याधुनिक विद्युतीय सवारीसाधन कानुनी जटिलता र अनधिकृत प्रयोगका कारण बिग्रिएर थन्किएका छन् । जसले राज्यको सम्पत्तिमा असर पारेको छ ।
लु१झ ६९६ नं को विद्युतीय भ्यान यही वैशाख १३ गते लुम्बिनी ग्राम क्षेत्रभित्रको सडकमा अनियन्त्रित भई दुर्घटना हुँदा अगाडिको भागमा क्षति भएको छ । स्थानीयले सोही भ्यानलाई २०८० चैत २३ गते अनधिकृत व्यक्तिले प्रयोग गरिरहेको देखेर प्रहरीलाई बुझाएका थिए । चालकसहित भ्यानमा सवार दुई जना कोषका पदाधिकारी वा कर्मचारी कोही थिएनन् ।
उक्त सवारी कोषको सूचना शाखाका कर्मचारी राजन बस्नेतले अनधिकृत रूपमा चलाउँदा २०८० साल साउन १९ गते दुर्घटना भएको थियो भने भ्यान मर्मतका लागि २८ लाख खर्च लाग्ने प्राविधिकले जनाएका छन् ।
लुम्बिनी सांस्कृतिक नगरपालिका–७ पक्डीहवाका ४० वर्षीय रविन्द्र यादव बस्नेतले चलाएको उक्त सवारीको ठक्करबाट घाइते भएका थिए । साथै लु१झ ६९४ नंको भ्यान पछाडितर्फ ठोक्किएको छ भने लु३१प १८६ नं को मोटरसाइकलमा ठूलो क्षति भएको उनको भनाइ छ ।
“ढोकामा ह्यान्डल गायब छ भने एउटा पाङ्ग्रा खोलिएको छ । लु१झ ६९५ नं भ्यानको चारवटै पाङ्ग्रा पञ्चर भएको छ । पाँचमध्ये चार बसको एसी बिग्रिएको छ । लु १झ ३८४ नम्बरको बसमा अगाडिको सिसा फुटेको छ”, उनले भने ।
एसियाली विकास बैंकको दक्षिण एशिया पर्यटन पूर्वाधार विकास आयोजनाअन्तर्गतको क्लिनइनर्जी योजनाबाट लुम्बिनी क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत १९ वटा विद्युतीय सवारी कोषका नाममा विसं २०७९ जेठ १२ गते नामसारी भई आएका हुन् । विभिन्न दुर्घटनामा क्षतिग्रस्त भएका सवारीसाधन, तीनैमध्येबाट हुन् ।