काठमाडौं । एनआईसी एसिया क्यापिटल र पैँचो पसलबीच सम्झौता भएको छ । भविष्यमा पैँचो पसलको सर्वसाधारणमा निष्काशन गर्नुपर्ने सेयरको निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गर्नेसम्बन्धी दुई पक्षीय सम्झौता सम्पन्न भएको छ । क्यापिटलले ‘आईडिया टु आईपीओ’ सेवाअन्तर्गत कुनै पनि क्षेत्रका कम्पनीहरूलाई कम्पनीको स्थापनाकालदेखि आईपीओ जारी गर्ने चरणसम्म पुर्याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराउँदै आइरहेको छ । सोही सेवाअन्तर्गत सुख्खानगर, बुटवल, रुपन्देहीमा रजिस्ट्रार कार्यालय रहेको पैँचो पसल प्रालिलाई क्यापिटलको ‘आईडिया टु आईपीओ’ सेवाअन्तर्गत प्रालिलाई पब्लिक कम्पनीमा परिणत गराई भविष्यमा कम्पनीको प्रबन्धपत्रमा व्यवस्था भएअनुसार प्रचलित कानुनबमोजिम सर्वसाधारणमा प्राथमिक सेयर निष्काशन गर्नका लागि एनआईसी एसिया क्यापिटल र पैँचो पसलबीच निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ति गर्नेसम्बन्धी दुई पक्षीय सम्झौता सम्पन्न भएको छ ।
पैँचो पसल प्रालि कृषि व्यवसायमा केन्द्रित कम्पनी हो । कम्पनीले उच्च पहाडी क्षेत्रमा उत्पादन भएको तरकारीलाई उच्च गुणस्तर कायम गरी उपभोक्ता माझ पुर्याउन सफल भएको छ । पैँचो पसलले केचप, अचार तथा जामजस्ता खाद्य परिकारहरू उत्पादन तथा प्याकेजिङ गरी बिक्री वितरण गर्दै आइरहेको छ । पैँचो पसल केबल खाद्य कम्पनी मात्र नभई, बीउविजन उत्पादनदेखि उत्पादित वस्तु बजारसम्म किसानसँग सहकार्य गर्दै ग्रामीण भेगमा बसोबास गर्ने समुदायको आर्थिक र सामाजिक उत्थानमा समेत योगदान पुर्याउन सफल भएको छ । कम्पनीले प्राविधिक परामर्श, व्यवस्थापन र बजार पहुँच सुनिश्चितता गर्दै कृषकलाई खेतमै मात्र नभई खेतबाहिर पनि जीवनयापनका अवसरहरू सिर्जना गरिरहेको छ ।
पैँचो पसलले आगामी दिनमा सर्वसाधारणमा सेयर जारी गरी कम्पनीको व्यवसाय थप प्रभावकारीरूपमा विस्तार गर्ने लक्ष्य लिएको छ । नेपालमा आधाभन्दा बढी जनसंख्या कृषि क्षेत्रमा संलग्न रहेको र यसले देशको कुल गार्हस्थ उत्पादनमा करिब एक चौथाइ मात्र योगदान पुर्याइरहेको अवस्थामा, पैँचो पसलजस्ता कम्पनीलाई नेपाल सरकारले प्राथमिकतामा राखी यस क्षेत्रमा दीर्घकालीन र दिगो विकासको ढोका खोल्न आवश्यक देखिन्छ । पैचो पसललाई युकेज फरेन, कमोनवेल्थ एन्ड डेभलपमेन्ट अफिस (एफसीडीओ) को कासा प्रोग्रामबाट सक्रियरूपमा सहयोग पुर्याई कम्पनीको क्षमता विकास, मूल्य सुदृढीकरण र ग्रामीण उद्यमीहरूलाई वित्तीय पहुँच विस्तारमा केन्द्रित भई विशेष सहयोग प्राप्त भइरहेको छ । जसको लागि ट्रु नर्थ एसोसियट्स प्रालिले परामर्श उपलब्ध गराउँदै आइरहेको छ ।
एनआईसी एसिया क्यापिटलले ‘आईडिया टु आईपिओ’ सेवाअन्तर्गत प्रालिलाई पब्लिक कम्पनीमा परिणत गरी साधारण सेयर निष्काशनसम्मको कार्य गर्न आवश्यक परामर्श सेवा सञ्चालन गरिरहेको हुँदा उक्त सेवा लिन चाहने कम्पनीले क्यापिटलका प्रमुख मर्चेन्ट बैंकिङ अधिकृत दामोदर रायमाझीलाई सम्पर्क गर्न पनि कम्पनीले आग्रह गरेको छ ।