काठमाडौं । विदेशबाट नेपालमा भित्रिने रेमिट्यान्सलाई अझ सहज, सरल तथा विश्वासिलो बनाउने उद्देश्यका साथ माछापुच्छ्रे बैंकले मलेसियास्थित सीबीएल मनी ट्रान्सफरसँग औपचारिक सम्झौता गरेको छ । माछापुच्छ्रे बैंकले मलेसियामा रहेका नेपालीलाई नेपालमा रेमिट्यान्स पठाउन सहज होस् भन्ने लक्ष्यका साथ मलेसियास्थित सीबीएल मनी ट्रान्सफरसँग सहकार्य गरी सोमबारदेखि विधिवतरूपमा रेमिट्यान्स सेवा सुरुवात गरेको हो । रेमिट्यान्ससम्बन्धी उक्त सम्झौतापत्रमा सीबीएल मनी ट्रान्सफरको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मोहम्मद सैदुर रहमान फराजी र माछापुच्छ्रे बैंकका नायब प्रमुख कार्यकारी अधिकृत प्रसिद्धराज अर्यालले हस्ताक्षर गरेका हुन् ।
उक्त सम्झौतापछि अब मलेसियामा रहेका नेपालीहरूले मलेसियास्थित सीबीएल मनी ट्रान्सफरका १५ वटा शाखा र सीबीएल मनी ट्रान्सफरको सिटी रेमिट एपबाट एमबीएल रेमिट गरी नेपाल पठाएको रकम सजिलैसँग माछापुच्छ्रे बैंकका एक सय ६५ वटा शाखाहरू, ९९ शाखारहित बैंकिङ सेवा र ११ एक्सटेन्सन काउन्टर तथा २० हजारभन्दा बढी रेमिट्यान्स एजेन्टमार्फत नेपालभरि सजिलै भुक्तानी लिन सकिनेछ ।
साथै, सीबीएल मनी ट्रान्सफर र सिटी रेमिट एपबाट एमबीएल रेमिट गरी पठाइएको रेमिट्यान्स नेपालका जुनसुकै बैंक खातामा तुरुन्त जम्मा हुने व्यवस्था बैंकले मिलाएको छ । मलेसियामा रहेका नेपाली कामदारहरूको सुविधाका लागि माछापुच्छ्रे बैंकले मलेसियाकै मोबाइल नम्बरमा माछापुच्छ्रे बैंकको मोबाइल बैंकिङ एपको सेवा पनि उपलब्ध गराएको छ । स्थापनाकालदेखि नै नयाँ–नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिबद्ध रहेको बैंकले पूर्वदेखि पश्चिम साथै हिमालदेखि पहाड, र तराईसम्म आफ्ना एक सय ६५ वटा शाखाहरू, ९९ शाखारहित बैंकिङ सेवा र ११ एक्सटेन्सन काउन्टरसमेत गरी जम्मा दुई सय ७५ स्थानमा रहेका सेवा सञ्जाल तथा दुई सय चार वटा एटीएममार्फत १७ लाखभन्दा बढी ग्राहकलाई अत्याधुनिक प्रविधिसहित सम्पूर्ण बैंकिङ सुविधा प्रदान गरिरहेको जानकारी दिएको छ ।