काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टीमकी स्टार खेलाडी प्रिती राईलाई सीजी हिरो मोटोकर्पले प्रोत्साहन एवं सम्मानस्वरूप हिरो जुम ११० स्कुटर प्रदान गरेको छ ।
नेपाल सुपर लिग (एनएसएल) सिजन ३ को समापन समारोहको अवसरमा एनएसएल सिजन ३ की ब्रान्ड एम्बेसडर समेत रहेकी राईलाई हिरो जुम ११० स्कुटर हस्तान्तरण गरिएको हो । दशरथ रंगशालामा आयोजित समारोहमा चौधरी फाउन्डेसनकी सदस्य सारिका चौधरीले खेलाडी राईलाई हिरो जुम ११० को साँचो हस्तान्तरण गरेकी थिइन् । यो सम्मान उनीद्वारा नेपाली महिला फुटबलको क्षेत्रमा पुर्याउनु भएको उत्कृष्ट योगदान, प्रेरणादायी प्रदर्शन तथा एनएसएलको सफल प्रवर्द्धनमा निर्वाह गर्नुभएको उल्लेखनीय भूमिकालाई उच्च मूल्याङ्कन तथा कदर गर्दै गरिएको कम्पनीले जनाएको छ ।
उपहारस्वरूप प्रदान गरिएको हिरो जुम ११० स्कुटर, नवीनतम प्रविधि र आकर्षक प्रदर्शनको सम्मिश्रण भएको कम्पनीले जानकारी दिएको छ । हिरो जुमको यस मोडलमा कम्पनीले पहिलोपटक हिरो इन्टिलिजेन्ट कर्नर लाइट्स, पूर्ण डिजिटल स्पिडो मिटर (आरटीएमआई डीटीईसहितको) का साथै ब्लुटुथ कनेक्टिभिटीमार्फत कल तथा एसएमएस अलर्ट सुविधा पनि उपलब्ध गराएको छ ।
आई थ्रीएस प्रविधिमा आधारित उक्त मोडलको स्कुटरले ०–६० किलोमिटर प्रतिघण्टाको गति जम्मा नौ दशमलव ३५ सेकेन्डमा लिने क्षमता बोकेको छ । १२ इन्चका टायरद्वारा सु–सज्जित यो स्कुटरले सहज र सन्तुलित यात्राको सुनिश्चितता प्रदान गर्ने कम्पनीको भनाइ छ । यसमा फ्रन्ट डिस्क ब्रेकका साथै इन्टिग्रेटेड ब्रेकिङ प्रणाली प्रविधि अपनाइएको छ । साथै, यसमा मोबाइल चार्जिङका लागि युएसबी चार्जिङ सुविधा पनि उपलब्ध गराएको छ ।