काठमाडौं । बनेपास्थित आरन्य नेचर रिसोर्टको व्यवस्थापन दक्षिण एसियाकै चर्चित एटमोसफेर कोरको हस्पिटालिटीले गर्ने भएको छ । लस्ट होराइजन जंगल रिसोर्ट लिमिटेडको साझेदारीमा बन्दै गरेको आरन्य नेचर रिसोर्ट सन् २०२५ को अन्त्यतिर एटमोसफेर कोरको व्यवस्थापनमा सञ्चालनमा आउन लागेको हो ।
समुद्री सतहबाट पाँच हजार फिटको उचाइमा रहेको बनेपा, नेपालको पुरानो सहर हो । २५ एकड जमिनमा फैलिएको यो रिसोर्टबाट मौसम सफा भएको बेलामा सगरमाथालगायत अन्य हिमालहरू र मनोरम पहाडहरूको दृश्य अवलोकन गर्न सकिन्छ । काठमाडौंमा भएको व्यवस्थापन सम्झौता कार्यक्रममा एटमोसफेर कोर ग्रुपकै प्रबन्ध निर्देशक सलिल पनिग्राहीले नेपाल दक्षिण एरियाको विलासी पर्यटकीय गन्तव्यको रूपमा अघि बढिरहेको र ग्राहकहरू जहिल्यै नयाँनयाँ रोमाञ्चित गन्तव्यहरूको खोजीमा रहने बताए । आरन्य नेचर रिसोर्ट प्रकृति र नेपाललाई नजिकबाट अनुभव गर्न सकिने रिसोर्ट हो । लस्ट होराइजन जंगल रिसोर्ट लिमिटेडका अध्यक्ष ज्ञानेन्द्रलाल प्रधानले एटमोसफेर कोरसँग साझेदारी गर्नु स्वाभाविक भएको बताए । रिसोर्ट नमोबुद्ध, बनेपामा रहेको थ्रान्गु ताशी याङ्त्से गुम्बा नजिकै रहेकाले एउटा मनोमोहक गन्तव्यको रूपमा इतिहास, अध्यात्म र प्राकृतिक सौन्दर्यलाई नजिकैबाट नियाल्न सकिने उनले जानकारी दिए ।
यस रिसोर्टमा मनमोहक दृष्य हेर्न मिल्ने ठूलाठूला झ्यालसहितको ५१ वटा आकर्षक डिजाइनका कटेज र स्वीट्सहरू हुनेछन् । आकर्षक स्विमिङ पुलको सुविधाले हरेक किसिमका आगन्तुकलाई लोभ्याउने छ भने बालबालिकाहरूका लागि छुट्टै किड्स क्लब पनि हुनेछ ।