नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत हप्ता काश्मिरमा भएको घातक आक्रमणको जवाफ दिन भारतीय सेनालाई ‘अपरेसनल फ्रिडम’ दिएको एक वरिष्ठ सरकारी स्रोतले जानकारी दिएको छ ।
स्रोतका अनुसार मोदीले सेना र सुरक्षा प्रमुखहरूलाई बन्द कोठामा भएको बैठकमा आतङ्कवादलाई ठूलो धक्का दिने भारतको राष्ट्रिय सङ्कल्प भएको बताएका थिए । मोदीले भने, ‘काश्मिरमा सर्वसाधारणमाथि भएको आतङ्कवादी हमलाको हाम्रो प्रतिक्रियाको अवस्था, लक्ष्य र समयबारे निर्णय गर्न सशस्त्र बललाई पूर्ण परिचालन स्वतन्त्रता छ ।’
एएफपीलाई सूचना दिने सरकारी स्रोतले आफूलाई मिडियासँग कुरा गर्ने अधिकार नभएको भन्दै नाम गोप्य राख्न भनिएको छ तर मोदीको टिप्पणीको रिपोर्ट भारतका केही प्रमुख अखबारहरूमा छापिएका समाचारसँग मिल्दोजुल्दो थियो ।
गत अप्रिल २२ मा भारत प्रशासित काश्मिरमा २६ जनाको ज्यान जाने गरी भएको आक्रमणमा पाकिस्तानले वर्षौँयताकै सबैभन्दा घातक आक्रमणलाई समर्थन गरेको आरोप भारतले लगाएपछि आणविक शक्ति सम्पन्न दुई देशबीचको सम्बन्ध चिसिएको छ । इस्लामाबादले उक्त आरोप अस्वीकार गर्दै आएको छ र त्यसपछि काश्मिरमा गोली हानाहान, कूटनीतिक नाकाबन्दी, नागरिकलाई देश निकाला र सीमा बन्द गर्न आदेश दिनेजस्ता कार्य दुवै मुलुकले गरेका छन् ।
स्रोतका अनुसार भारतीय प्रधानमन्त्री मोदीले भारतीय सशस्त्र बलको व्यावसायिक क्षमतामा पूर्ण विश्वास व्यक्त गर्दै उनीहरूलाई आफ्नो सरकारको पूर्ण समर्थन रहेको बताएका थिए । सरकारी स्रोतहरूले भारतीय सेनाप्रमुख र रक्षामन्त्री राजनाथ सिंहसँग मोदीको भेटको भिडियो तस्बिर सार्वजनिक गरेका छन् । गत हप्ता मोदीले काश्मिरको पहलगाममा आक्रमण गर्ने र त्यसलाई समर्थन गर्नेलाई कारबाही गर्ने प्रतिबद्धता जनाएका थिए ।
बिहीबारको उक्त प्रतिक्रियामा उनले भने, ‘म सारा विश्वलाई भन्छु, भारतले हरेक आतङ्ककारी र तिनका समर्थकको पहिचान गर्नेछ, ट्र्याक गर्नेछ र सजाय दिनेछ ।