काठमाडौँ । शिक्षक महासङ्घसँग जारी वार्ता सकारात्मक दिशामा अघि बढेको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले बताएका छन् । उनले मङ्गलबार रातिको वार्तापछि मन्त्रालयमै सञ्चारकर्मीलाई शिक्षकसँगको वार्ता सम्भव भएसम्म छिटो टुङ्गो लगाउन लागिएको जानकारी दिए ।
शिक्षामन्त्री रघुजी पन्त र महासङ्घका पदाधिकारीबीचको वार्ता मङ्गलबार राति ८ बजेदेखि साढे १० बजेसम्म चलेको थियो । वार्तामा शिक्षक पनि सकारात्मक रुपमा प्रस्तुत भएको जनाइएको छ । गृहमन्त्री रमेश लेखक र उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल पनि वार्तामा सहभागी भएका थिए ।
सरकार र आन्दोलनरत शिक्षक महासङ्घबीच सोमबार भएको वार्ता सकारात्मक रुपमा अघि बढेकामा बुधबार पुनः वार्ता भएको हो । साथै महासङ्घका तर्फबाट अध्यक्ष लक्ष्मीकिशोर सुवेदी नेतृत्वमा शिक्षकहरूको टोली वार्तामा सहभागी भएको जनाइएको छ ।
गत चैत २० गतेदेखि शिक्षक सङ्घ सङ्गठनहरूले विभिन्न माग राखी आन्दोलन गरिरहेका छन् । जसका कारण देशभरका सामुदायिक विद्यालयमा शैक्षिक सत्र २०८२ को सुरुदेखि नै पठनपाठन प्रभावित भएको छ ।