काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीले नेपालमा बालश्रम उन्मूलन गरेर अन्तर्राष्ट्रिय मञ्चमा गरेको प्रतिबद्धता पूरा गरी सफल स्थापित हुनुपर्ने बताएका छन् ।
मन्त्रालयद्वारा बुधबार ललितपुरमा आयोजित कृषिमा बालश्रमसम्बन्धी राष्ट्रिय संवादमा कार्यक्रममा उनले विश्व समुदायमा बालश्रम उन्मूलन गर्ने सन्दर्भमा नेपालले अन्तर्राष्ट्रिय मान्यतालाई पालना गर्दै संविधान, ऐन, कानुन र कार्यविधिमार्फत सम्बोधन गरेको बताए । उनले भने ‘कृषि क्षेत्र धेरै मजदुर छन् । डोल्पा र मधेशका कतिपय ठाउँमा विद्यालय जानेको संख्या एकदम न्यून छ, मानसिकता नै कमजोर छ, यसलाई परिवर्तन गर्नुपर्नेछ, हामीले दिगो विकासका लक्ष्य परिपूर्ति गर्न बालश्रम उन्मूलनलाई व्यवहारमा उतार्नुपर्छ ।’ बालश्रम उन्मूलनका लागि तीनै तहका सरकारले जोड दिनुपर्ने भन्दै उनले स्थानीय तहमा बालश्रम उन्मूलन नभएसम्म प्रदेश र संघले पनि घोषणा गर्न सकिँदैन भन्नेमा ध्यानाकर्षण गराए ।
‘सचेतना अभिवृद्धि महत्वपूर्ण छ, बालश्रम उन्मूलनका लागि जसको लागि ऐन कानुन बनेको छ, उसलाई नै थाहा भएन भने काम हुँदैन, बालबालिकालाई विद्यालय जान पाउने, आर्थिक अधिकारमा सबल हुने वैकल्पिक व्यवस्थाका बारेमा पनि सोच्नुपर्ने छ’, उनले भने । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव चक्रपाणि पाण्डेले बालबालिकाको संरक्षण, शिक्षा र स्वास्थ्यजस्ता आधारभूत अधिकारहरू सुरक्षित गर्दै कृषि क्षेत्रमा रहेको बालश्रम अन्त्य गर्नुपर्ने बताए । उनले कृषि क्षेत्रमा रहेको ८७ प्रतिशत बालश्रमलाई अन्त्य गर्न यसलाई कानुनीरूपमा परिभाषित गर्दै प्रचारप्रसार गर्नुपर्ने आवश्यकता रहेकोमा जोड दिए ।