हरेक वर्ष मे १ तारिखका दिन विश्वभरि श्रमिक दिवस मनाइन्छ । यसर्थ, सन् २०२५ मा पनि संसारभर मजदुर वर्गको संघर्ष, योगदान र अधिकारको सम्मानस्वरूप विभिन्न कार्यक्रम र पहलहरू सम्पन्न हुँदैछन् । जसमा भन्ने नै हो भने नेपालजस्ता विकासशील देशका लागि यो दिवस अझ विशेष महत्व राख्छ । जहाँ श्रमिक वर्ग देशको आर्थिक मेरुदण्ड बनेर उभिएको छ । यसै सन्दर्भमा भन्ने नै हो भने नेपालमा श्रमिक आन्दोलनको ऐतिहासिक पृष्ठभूमि, हालको अवस्था र आगामी भविष्यका चुनौतीहरू सन् २०२५ को सन्दर्भमा अझ बढी अर्थपूर्ण बनेका छन् ।
अन्तर्राष्ट्रिय श्रमिक दिवसको ऐतिहासिक पृष्ठभूमि
अन्तर्राष्ट्रिय श्रमिक दिवसको इतिहास सन् १८८६ को अमेरिकाको शिकागो सहरमा भएको हैमार्केट घटनासँग गाँसिएको छ । यसमा मजदुरहरूले आठ घण्टे कार्य समयको माग गर्दै आन्दोलन गरेका थिए । जुन शान्तिपूर्ण आन्दोलन हिंसामा परिणत भएपछि कयौं मजदुरहरूले ज्यान गुमाए । यस घटनाले विश्वभर मजदुर आन्दोलनलाई तीव्रता दियो । त्यसपछि सन् १८८९ मा दोस्रो अन्तर्राष्ट्रिय समाजवादी सम्मेलनले मे १ लाई अन्तर्राष्ट्रिय श्रमिक दिवसका रूपमा मनाउने घोषणा ग¥यो । आज, यो दिवस मजदुर वर्गको अधिकार र सम्मानको प्रतीक बनेको छ ।
नेपालमा श्रमिक आन्दोलनको इतिहास
नेपालमा औपचारिकरूपमा श्रमिक आन्दोलनको सुरुवात राणा शासनको अन्त्यतिर सुरु भएको पाइन्छ । सन् १९४७ मा विराटनगर जुट मिलका मजदुरहरूले आफ्ना श्रम अधिकारका लागि गरेको आन्दोलनले नेपालमा श्रमिक आन्दोलनको थालनी भएको मानिन्छ । त्यसबेला मजदुरहरूले न्यूनतम पारिश्रमिक, कार्य घण्टा र कार्यस्थलको सुधारको माग राखेका थिए । नेपालमा लोकतन्त्र स्थापनासँगै मजदुर हकअधिकारको सवालले संस्थागतरूप लिन थाल्यो । अहिले मुलुकमा विभिन्न मजदुर संगठनहरू सक्रिय छन् । जस्तै, नेपाल ट्रेड युनियन काँग्रेस (एनटीयुसी), संयुक्त ट्रेड युनियन महासंघ (जीईएफओएनटी), अखिल नेपाल ट्रेड युनियन महासंघ (एएनटीयुएफ) आदि रहेका छन् ।
सन् २०२५ को सन्दर्भमा अन्तर्राष्ट्रिय श्रमिक दिवस
सन् २०२५ मा संसार निकै प्रविधि–मुखी र प्रतिस्पर्धात्मक बन्दै गइरहेको छ । यसमा भन्ने नै हो भने डिजिटलाइजेसन, रिमोट वर्क, आर्टिफिसियल इन्टेलिजेन्स (एआई)जस्ता प्रविधिहरू श्रम बजारमा नयाँ आयाम ल्याइरहेका छन् । यस सन्दर्भमा सन् २०२५ को श्रमिक दिवस ‘प्रविधि र मानव अधिकारको सन्तुलन’ भन्ने मूल नारामा केन्द्रित देखिन्छ । तसर्थ, नेपालजस्ता मुलुकहरूमा परम्परागत कृषि, निर्माण, पर्यटन र सेवा क्षेत्रका श्रमिकहरू आधुनिक प्रविधिले ल्याउने अवसर र चुनौतीबीच जुधिरहेका छन् । त्यसैले सन् २०२५ मा नेपालको श्रमिक दिवसको महत्व झन् बढेको छ ।
नेपालमा सन् २०२५ को श्रमिक अवस्था
नेपालको श्रमिक अवस्थालाई केही मुख्य शीर्षकमा प्रस्तुत गर्न सकिन्छ:
वैदेशिक रोजगारीमा भर: नेपालको अर्थतन्त्रमा वैदेशिक रोजगारबाट आउने रेमिट्यान्सले ठूलो योगदान पुर्याइरहेको छ । यसमा पनि भन्ने नै हो भने लाखौँ नेपाली युवाहरू अहिले खाडी मुलुक, मलेसिया, दक्षिण कोरिया, जापानलगायतका देशहरूमा श्रमिकका रूपमा कार्यरत छन् । यसर्थ, सन् २०२५ मा पनि नेपाल वैदेशिक रोजगारमा अत्यधिक निर्भर रहेको देखिन्छ । तर, वैदेशिक श्रमिकहरूले भोग्नुपरेका समस्याहरू, जस्तै शोषण, सम्झौतामाथिको उल्लङ्घन, दुर्घटना र कानुनी असहयोगका समस्या अझै यथावत छन् ।
देशभित्रको श्रमिक अवस्था: नेपालमा कृषि क्षेत्र, निर्माण क्षेत्र, पर्यटन क्षेत्र र सेवा क्षेत्रमा श्रमिकहरूको संख्या उच्च छ । सन् २०२५ मा पनि कृषि क्षेत्रमा करिब ६० प्रतिशत श्रमिकहरू संलग्न रहेका छन् । तर, कृषिमा न्यूनतम ज्याला, प्रविधिको अभाव र श्रमिक सुरक्षाको कमजोरीजस्ता समस्या रहेका छन् । यसको साथसाथै निर्माण क्षेत्रमा श्रमिकहरू ज्यादै असुरक्षित स्थितिमा काम गरिरहेका छन् । यसमा पनि हेल्मेट, सेफ्टी बेल्टजस्ता आधारभूत सुरक्षाको समेत अभाव देखिन्छ । सन् २०२४ मा थोरै सुधार भए तापनि देशभर मजदुर सुरक्षा विधिको पूर्ण कार्यान्वयन हुन सकेको छैन् ।
महिला श्रमिकहरूको अवस्थाः महिला श्रमिकहरूको अवस्था अझ संवेदनशील छ । जसमा भन्ने नै हो भने घरेलु कामदार, होटल तथा पर्यटन क्षेत्रमा कार्यरत महिलाहरूले लैङ्गिक विभेद, कम ज्याला, यौन उत्पीडनजस्ता समस्याहरू भोग्नुपरेको देखिन्छ । जसमा नेपाल सरकारले श्रमिक महिलाका लागि विभिन्न कानुनी सुरक्षा व्यवस्था गरेको भए पनि कार्यान्वयनमा कमजोरी छ ।
प्रविधि र श्रमिक: सन् २०२५ को सन्दर्भमा प्रविधिको विकासले श्रमिक बजारमा नयाँ अवसर र चुनौती दुवै ल्याएको छ । यसमा पनि आजको २१ औं शताब्दीमा आएर ई–कमर्स, अनलाइन सेवा, फ्रिलान्सिङ र डिजिटल प्लेटफर्महरूबाट केही नयाँ रोजगारी सिर्जना भए पनि धेरै श्रमिकहरू प्रविधिसँग तालमेल मिलाउन नसक्दा प्रतिस्पर्धाबाट पछाडि परिरहेका छन् ।
न्यूनतम ज्याला र सामाजिक सुरक्षाः नेपाल सरकारले प्रत्येक वर्ष न्यूनतम तलब तोक्ने नीति अवलम्बन गर्दै आएको छ । सन् २०२५ मा सरकारद्वारा तोकिएको न्यूनतम तलब १७ हजार तीन सय रुपैयाँ रहेको छ । यसमा पनि सामाजिक सुरक्षा कोषमा श्रमिकहरूलाई समावेश गर्ने प्रयास जारी छ । तर, व्यावहारिकरूपमा अझै धेरै श्रमिकहरू कोषबाहिर रहेका छन् । फलतः सन् २०२५ को श्रमिक आन्दोलनका मुख्य मुद्दाहरू यस प्रकार हुन सक्ने सम्बन्धित निकायहरूले अनुमान लगाएका छन् । यसमा पहिलो वैदेशिक रोजगारमा पारदर्शिता र सुरक्षा हुनुपर्छ । त्यसैगरी दोस्रोमा श्रमिक सुरक्षाको सुनिश्चितता हुनुपर्छ । त्यस्तैगरी तेस्रो प्रविधिमा श्रमिकहरूको पहुँच पुग्नुपर्छ । चौथौ न्यूनतम ज्यालाको उचित कार्यान्वयन हुनुपर्छ । त्यसैगरी पाँचौँ महिला श्रमिक अधिकार र सुरक्षा हुनुपर्छ । त्यसैगरी छैठौँ सामाजिक सुरक्षामा सबै श्रमिकको पहुँचमा हुनुपर्ने राय, सुझाव, सल्लाह आदि दिइएको छ । यी मुद्दाहरू सन् २०२५ मा नेपालका श्रमिक आन्दोलनका प्रमुख एजेन्डा बनेका छन् ।
सरकारले लिएका पहलहरू
नेपाल सरकारले श्रमिक हितका लागि विभिन्न नीतिगत प्रयासहरू गरेको छ । जसमा रहेको श्रम ऐन, २०७४ र श्रम नियमावलीले श्रमिक अधिकार सुनिश्चित गरेको छ । त्यसैगरी सामाजिक सुरक्षा योजना (सोसियल सेकुरिटी स्क्रिम) लागू गरिएको छ । त्यसरी नै वैदेशिक रोजगार नीतिमा सुधार गर्दै अनिवार्य बीमा, रोजगार पूर्वतालिम, सम्झौतामाथिको निगरानी व्यवस्था गरिएको छ । त्यसरी नै महिला श्रमिकहरूलाई प्रवर्द्धन गर्न विभिन्न कार्यक्रमहरू सञ्चालन गरिएका छन् । जस्तै; सुरक्षित मातृत्व कार्यक्रम, तालिम र उद्यमशीलता प्रवर्द्धन आदि रहेका छन् । तर यी सबै प्रयासहरू अझ प्रभावकारी कार्यान्वयन र श्रमिकमैत्री व्यवस्थापनमा आधारित हुन आवश्यक देखिन्छ । यसको साथसाथै श्रमिक दिवसको अवसरमा देशव्यापीरूपमा प्रमुख कार्यक्रमहरू सञ्चालन हुने छन् । जसमा श्रमिक मार्च पास र र्यालीहरू काठमाडौं, विराटनगर, पोखरा, नेपालगञ्जलगायत सहरहरूमा हुन्छ भने त्यसरी नै श्रमिक हकहितको माग गर्दै विभिन्न संघ–संस्थाले गोष्ठी तथा अन्तर्क्रिया कार्यक्रम, सरकार र मजदुर संगठनबीच संवाद कार्यक्रम, श्रमिकहरूका कथा र संघर्षलाई उजागर गर्ने मिडिया रिपोर्टिङ र वृत्तचित्र प्रदर्शन, प्रविधि र श्रमिकसम्बन्धी तालिम र कार्यशाला आदि हुने सम्बन्धित आयोजकहरूले औँल्याएको छन् । यी कार्यक्रमहरूले श्रमिक अधिकारप्रतिको चेतना फैलाउने महत्वपूर्ण भूमिका खेल्न सक्ने बताइएको छ । मूलतः यसमा रहेका विभिन्न किसिमका चुनौती र सम्भावना पनि विद्यमान रहेका छन् । जसमा श्रमिक सुरक्षाको न्यूनतम मापदण्डको कार्यान्वयन अभाव, असंगठित क्षेत्रका श्रमिकहरूको अधिकार सुनिश्चित गर्न कठिनाइ, प्रविधि र प्रविधि साक्षरता अभाव, लैङ्गिक तथा जातीय विभेद, वैदेशिक रोजगारीमा हुने मानव अधिकार उल्लंघनहरू एकातिर छन् भने अर्कोतिर हेर्ने हो भने सम्भावनाहरू पनि रहेका छन् । जसमा प्रविधिको सदुपयोगबाट नयाँ रोजगारी सिर्जना, कृषि र पर्यटन क्षेत्रमा श्रमिकहरूको उत्पादकत्व वृद्धि, वैदेशिक श्रमिकलाई उद्यमशीलता तर्फ डो–याउने कार्यक्रमहरू, सामाजिक सुरक्षा कार्यक्रम प्रभावकारी बनाइ श्रमिक जीवनस्तर सुधार आदि रहेका छन् । यस श्रमिक आन्दोलनलाई मध्यनजर राखि भविष्यको बाटो तिर अवलोकन गर्ने हो भने नेपालमा श्रमिक आन्दोलन र श्रमिक अधिकार सुनिश्चित गर्न केही रणनीतिहरू आवश्यक रहेका छन् । त्यसमा प्रविधि साक्षरता कार्यक्रम, घरेलु रोजगारी सिर्जना गर्न सरकारी प्रोत्साहन, वैदेशिक रोजगार सुरक्षित बनाउन कूटनीतिक पहल, सामाजिक सुरक्षाको पूर्ण कार्यान्वयन, श्रमिक संगठनहरूलाई अझ संस्थागत र सशक्त बनाउने आदि कार्यक्रमहरू रहेको सम्बन्धित विज्ञहरूले भनाइ रहेको पाइन्छ ।
निष्कर्षमा भन्नुपर्दा सन् २०२५ को अन्तर्राष्ट्रिय श्रमिक दिवस नेपालका लागि आत्मचिन्तन र सुधारको महत्वपूर्ण अवसर बनेको छ । जसलाई भन्ने नै हो भने मजदुरहरू राष्ट्रको मेरुदण्ड हुन् भन्ने सत्यलाई आत्मसात गर्दै सरकार, श्रमिक संगठन र निजी क्षेत्र मिलेर श्रमिक अनुकूल वातावरण सिर्जना गर्नु आवश्यक छ । अतः श्रमिक अधिकारको सम्मान र समृद्धिको सुनिश्चितता नै समतामूलक, न्यायपूर्ण र दिगो नेपाल निर्माणको आधार बन्न सक्छ । यस दिशामा सबैको साझा प्रयास अपरिहार्य देखिन्छ ।