काठमाडौँ । अन्तरराष्ट्रिय श्रमिक दिवसको अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दै नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसले ट्रेड युनियन ऐन, श्रम ऐन, सामाजिक सुरक्षा कोषलगायतलाई अगाडि बढाउन सदैव महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उल्लेख गरेका छन् ।
नेपालका श्रमजीवीले हाल पनि अनेक समस्या बेहोरिरहनु परेकाले त्यसलाई समाधान गरिनुपर्नेमा उनले जोड दिएका छन् । “श्रमजीवी वर्गको समस्यालाई समाधान गरेर हकहितको संरक्षण र सम्वर्द्धन गर्न तथा कार्य वातावरण, सामाजिक सुरक्षा, उचित ज्याला एवं पारिश्रमिक तथा पेसागत मर्यादा र सम्मानका लागि कांग्रेस क्रियाशील छ । यी समस्या समाधानमा सबै लाग्नुपर्छ”, सन्देशमा उल्लेख गरिएको छ ।
मे १ तारिखलाई संसारभरिका मजदुरले अन्तरराष्ट्रिय श्रमिक दिवसका रूपमा मनाउँदै आएका छन् । नेपालमा विसं १९९३ मा विराटनगर जुट मिल उद्योगको स्थापना भएपश्चात विसं २००३ मा कांग्रेसको नेतृत्वमा आफ्नो हकहित र सेवा सुविधाको माग राखेर विराटनगरमा मजदुरहरूको पहिलो ऐतिहासिक आन्दोलन भएको थियो । तत्कालीन सरकारले त्यतिबेला जननायक बिपी कोइरालालगायत धेरै नेतालाई पक्राउ गरेको थियो ।
नेपालमा २००७ सालको ऐतिहासिक जनक्रान्तिको प्रस्थान विन्दु यही मजदुर आन्दोलनलाई मान्ने गरिएको छ । त्यसैले कांग्रेस र मजदुर सधैँ एक अर्कामा आबद्ध भएर एकअर्काका अनन्य सहयोगीका रूमा रहिआएको पनि सभापति देउवाले उल्लेख गरेका छन् । उनले २०१६ सालमा कांग्रेसको जन–निर्वाचित सरकारले नै मजदुरलाई कानुनसम्मत् अधिकार प्रदान गरेको उल्लेख गरे ।
उनले नेपाली श्रमबजारको उन्नतिका लागि कांग्रेसले नै पहिलोपल्ट सामाजिक न्यायसहित उदार अर्थव्यवस्थाको नीति लिएको बताए । सभपति देउवाले श्रमिक, मजदुर वर्गले लामो सङ्घर्षपछि आफ्नो अधिकार प्राप्त गरेको यो ऐतिहासिक दिनले सबैमा नयाँ ऊर्जा र उत्साह भर्ने विश्वास लिँदै उनीहरूको सुख, शान्ति र समृद्धिका लागि पुनः शुभ–कामना व्यक्त गरेका छन् ।