वासिङ्टन डिसी । डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालको सुरुवातमा अमेरिकी अर्थतन्त्रमा सङ्कुचन देखा परेको छ । सन् २०२५ को पहिलो तीन महिनामा अमेरिकी कुल गार्हस्थ्य उत्पादन (जीडीपी) शून्य दशमलव तीन प्रतिशतले घटेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले व्यापक कर वृद्धि गर्नुअघि आयातमा भएको वृद्धिका कारण अर्थतन्त्रमा सङ्कुचन देखिएको हुनसक्ने अमेरिकी वाणिज्य मन्त्रालयले अनुमान गरेको छ ।
सन् २०२४ को अन्तिम महिनामा दुई दशमलव चार प्रतिशतले वृद्धि भएको विश्वको सबैभन्दा ठूलो अर्थतन्त्रको कुल गार्हस्थ्य उत्पादन पहिलो त्रैमासिकमा वार्षिक शून्य दशमलव तीन प्रतिशतका दरले घटेको मन्त्रालयले उल्लेख गरेको छ ।
वाणिज्य मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘पहिलो त्रैमासिकमा वास्तविक कुल गार्हस्थ्य उत्पादनमा आएको मन्दीले आयातमा आएको वृद्धि, उपभोक्ता खर्चमा आएको कमी र सरकारी खर्चमा आएको मन्दीलाई प्रतिबिम्बित गरेको छ ।’
ट्रम्प सत्तामा फर्केको जनवरी २० देखि १०१औँ दिनका अवसरमा यो तथ्याङ्क सार्वजनिक गरिएको हो । यो समयमा उनले अमेरिकी व्यापार सम्बन्धलाई पुनस्र्थापित गर्न अप्रिलको सुरुदेखि शीर्ष व्यापारिक साझेदारहरूलाई व्यापक कर लगाउने योजनाहरू प्रस्तुत गर्दै मार्चमा धेरै चरणहरूमा कर वृद्धिको घोषणा गरेका थिए । ती शुल्कहरूको सुरुवातले वित्तीय बजारमा सेयर बिक्रीलाई बढावा दियो, जसले अस्थिरतालाई कोभिड–१९ महामारीपछिको न्यूनस्तरमा पु¥यायो र लगानीकर्ताहरूलाई तर्सायो ।
जर्ज वासिङ्टन युनिभर्सिटीका अर्थशास्त्रका प्राध्यापक तारा सिन्क्लेयरले एएफपीसँग भने, ‘विशेषगरी राष्ट्रपति भएको पहिलो एक सय दिनमा सामान्यतया सरकारी नीतिमा त्यति धेरै परिवर्तन हुँदैन तर अहिले यो अवस्था फरक छ ।’
अप्रिलमा ट्रम्पको नीतिको आलोचना गर्दै भएको नाटकीय सेयरबजारको गिरावटपछि ट्रम्प प्रशासनले व्यापार वार्ताको लागि अनुमति दिन दर्जनौँ देशहरूलाई उच्च कर वृद्धिको लागि ९० दिनको विरामको घोषणा गर्दै अधिकांश देशहरूको लागि आधारभूत १० प्रतिशत दर कायम गरेको थियो ।
यसले स्टिल, आल्मुनियम र अटोमोबाइल्स र संयुक्त राज्य अमेरिकामा नबनेका पार्टपुर्जाहरूमा क्षेत्र–विशिष्ट उपाय र चीनमाथि कुल एक सय ४५ प्रतिशत नयाँ व्यापक करहरू घोषणा गरेको छ । त्यसको जवाफमा बेइजिङले अमेरिकी सामानमाथि कडा र लक्षित कर लगाएको छ ।