काठमाडौं । नेपाल राष्ट्र बैंकले पाँचवटा वाणिज्य बैंकलाई कारबाही गरेको छ । यसअघि जारी भएका नीति र परिपत्रअनुसार काम नगरेकै आधारमा दुई सरकारी वाणिज्य बैंक, एउटा बहुराष्ट्रिय कम्पनीद्वारा प्रवद्र्धित बैंक र दुईवटा निजी क्षेत्रद्वारा सञ्चालित वाणिज्य बैंकहरूलाई राष्ट्र बैंकले कारबाही गरेको छ ।
कारबाहीमा पर्ने बैंकहरूमा राष्ट्रिय वाणिज्य बैंक, कुमारी बैंक, कुमारी बैंक, लक्ष्मी सनराइज बैंक, नेपाल बैंक र स्टान्डर्ड चार्टर्ड बैंक छन् । राष्ट्रिय वाणिज्य बैंकले राष्ट्र बैंकबाट जारी गरिएको एकीकृत निर्देशनबमोजिम कर्जालाई सूक्ष्म निगरानी वर्गमा वर्गीकरण नगरेको, सोही निर्देशनमा कर्जाको भाका नाघेको अवधिको आधारमा वर्गीकरण नगरेको, कर्जा बक्यौता अवधिको आधारमा कर्जा नोक्सानी व्यवस्था कायम नगरेको पाइएको छ । यस्तै, कर्जाको जोखिम भार गणना गर्दा केन्द्रीय बैंकबाट जारी क्यापिटल एडुकेसी फ्रेम वर्क, २०१५ बमोजिम जोखिम भार गणना नगरेको तथा चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७९ (दोस्रो संशोधन)मा भएका कतिपय व्यवस्थाहरूको पूर्ण पालना नगरेको पाइएको छ । सोही आधारमा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा २ को खण्ड (क) बमोजिम सचेत गराएको छ ।
कुमारी बैंकले पनि एकीकृत निर्देशन, २०८१ मा भएको व्यवस्थाबमोजिम सूक्ष्म निगरानी कर्जा र निष्क्रिय कर्जालाई वर्गीकरण नगरेको र न्यूनतम कर्जा नोक्सानी व्यवस्था कायम नगरेको पाइएको छ । सोही आधारमा कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृतलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा २ को खण्ड (क) बमोजिम सचेत गराएको छ ।
लक्ष्मी सनराइज बैंकलाई बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३मा भएको व्यवस्था र बैंक तथा वित्तीय संस्थालाई जारी गरेको निर्देशन पालना नगरेपछि बैंकका सीईओलाई नसिहत दिइएको राष्ट्र बैंकले जनाएको छ ।
बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ ले कुनै पनि बैंकको सञ्चालक, चुक्ता पुँजीको एक प्रतिशत वा सोभन्दा बढी सेयर लिएको व्यक्ति, कार्यकारी प्रमुख वा त्यस्ता व्यक्तिको परिवारका सदस्य वा म्यानेजिङ एजेन्ट वा सञ्चालक मनोनित गर्ने अधिकार पाएको व्यक्ति, फर्म, कम्पनी वा संस्थाको उल्लेख्य स्वामित्व वा वित्तीय स्वार्थ भएको कुनै फर्म, कम्पनी वा संस्थालाई कुनै किसिमको कर्जा वा सुविधा प्रदान गर्न बन्देज गरेको छ छ । तर लक्ष्मी सनराइज बैंकले आफ्नै बैंकको संस्थापकको सोही बैंकमा कल खाता तथा चालू खाता सञ्चालन हुँदै आइरहेकोमा चालू खातामा विभिन्न मितिमा दैनिक मौज्दात रकम ऋणात्मक रही नियमविपरीत अप्रत्यक्षरूपमा कर्जा सुविधा उपलब्ध गराएको सम्बन्धमा पनि कारबाही गरिएको राष्ट्र बैंकले जनाएको छ ।
लक्ष्मी सनराइज बैंकले एकीकृत निर्देशन तथा बैंकको कर्जा नीति एवं कर्जाका प्रोडक्ट पेपरहरूको व्यवस्थाको अपव्याख्या गरी चालू पुँजी प्रकृतिको कर्जाका लागि लामो समयावधिको आवधिक कर्जा प्रदान गरेको, मार्जिन प्रकृतिका कर्जाको प्रयोजनका लागि आवधिक कर्जा प्रदान गरेको पाइएको छ । कर्जामा निहित जोखिमलाई समयमै व्यवस्थापन नगरी व्यक्तिगत आवधिक कर्जा तथा लामो समयदेखि सञ्चालनमा रहेका ठूला व्यावसायिक संस्थाहरूलाई समेत बलोनिङ किस्ता कायम गरी कर्जा अवधिको सुरुका वर्षहरूमा अत्यधिक न्यूनतम तथा अन्तिम वर्षहरूमा अधिकतम साँवा असुल हुनेगरी कर्जाको किस्ता कायम गरेको, नीतिगत व्यवस्था रहेका कर्जाका प्रोडक्ट पेपरहरू सञ्चालक समितिबाट स्वीकृत हुनुपर्नेमा प्रमुख कार्यकारी अधिकृतबाट नै स्वीकृत गर्ने गरिएको पाइएको छ । यस्तै, चालू पुँजी कर्जाका लागि ब्रिज ग्याप कर्जा प्रदान गरी लामो समयपछि ब्रिज ग्याप कर्जालाई आवधिक कर्जामा परिणत गर्ने गरिएको हुँदा कर्जा जोखिम व्यवस्थापनमा व्यवस्थापन गम्भीर नभएको पाइएपछि राष्ट्र बैंकले कारबाही गरेको हो ।
बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ बमोजिम लक्ष्मी सनराइज बैंकले संस्थापक सेयरधनीका लागि ऋण लिने सन्दर्भमा सेयर धितो राख्नुपूर्व राष्ट्र बैंकको स्वीकृति लिनुपर्नेमा त्यस बैंकको दुई प्रतिशतभन्दा बढी सेयर धारण गर्ने एक संस्थापक सेयरधनीले धारण गरेको लक्ष्मी सनराइज बैंकको संस्थापक सेयर धितो राखी नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडबाट कर्जा लिँदा राष्ट्र बैंकको स्वीकृति नलिई निजको संस्थापक सेयर धितोबन्धक राखेको तथा कर्जा उपयोग गरेको अभिलेख बैंकले नराखेको सम्बन्धमा पनि राष्ट्र बैंकले सचेत गराएको छ ।
नेपाल बैंकले रणनीतिक योजना, वार्षिक बजेट तथा कार्यक्रम प्रभावकारीरूपमा कार्यान्वयन गराउन नसकेको, बजेट तथा कार्यक्रम र रणनीतिक योजनाबीच प्रभावकारी तादात्म्यता गराउन नसकेकोे पाइएपछि राष्ट्र बैंकले कारबाही गरेको छ । यस्तै नेपाल बैंकले समयमै कर्जा स्वीकृति तथा नवीकरण गराउन नसकेको, उच्च व्यवस्थापन तहमा रहेका कर्मचारीहरूबीच आपसी समन्वय गर्न÷गराउन नसकेको देखिएकोले बैंकमा प्रमुख कार्यकारी अधिकृतलाई पनि सचेत गराएको छ । बैंकका तत्कालीन सञ्चालक समिति अध्यक्ष डा. चन्द्रबहादुर अधिकारीले आफ्नो पद र नाम दुरुपयोग गरी व्यक्तिगत फाइदा हुने क्रियाकलापमा संलग्न रही नेपाल राष्ट्र बैंकबाट जारी भएको एकीकृत निर्देशन २०८०मा सञ्चालकले आफ्नो पद र नाम दुरुपयोग गरी कुनै पनि किसिमको व्यक्तिगत फाइदा हुने क्रियाकलापमा संलग्न हुन नपाइने व्यवस्थाको उल्लंघन गरेकोेले पाँच लाख रुपैयाँ जरिबाना गरेको छ ।
बहुराष्ट्रिय कम्पनीद्वारा प्रवद्र्धित स्टयान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडलाई पनि राष्ट्र बैंकले कारबाही गरेको छ । आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमास २०८१ पुस मसान्तसम्म तोकिएका क्षेत्रमा कर्जा प्रवाह गर्नुपर्ने न्यूनतम प्रतिशतभन्दा कम कर्जा प्रवाह गरेको पाइएपछि राष्ट्र बैंकले १४ करोड ८५ लाख २५ हजार पाँच सय ६६ रुपैयाँ ८७ पैसा जरिबाना गरेको छ ।