काठमाडौं । सरकारले श्रम बजारसम्बन्धी सूचना प्रणाली श्रम संसार पोर्टल सञ्चालनमा ल्याएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले निर्माण गरेको श्रम संसार पोर्टलको बिहीबार १३६औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा सञ्चालनमा ल्याइएको हो ।
मन्त्रालयले निर्माण गरेको उक्त पोर्टलको प्रधानमन्त्री केपी शर्मा ओलीले भचुर्अल माध्यमबाट शुभारम्भ गरेका थिए । सो कार्यक्रममा प्रधानमन्त्री ओलीले श्रम संसार प्रणाली श्रम तथा रोजगार सेवाको विनिमय प्रणाली भएको बताए । यसबाट श्रम तथा रोजगारका सम्बद्ध विषयको माग तथा आपूर्ति विश्लेषण, रोजगारीमा आबद्धता, रोजगारदाता संस्थाको नियमन, रोजगार सेवाको समतामूलक र पहुँचयोग्यता विस्तारमार्फत सङ्घीयताको लाभ जनस्तरसम्म पु¥याउन सहयोगी हुने उनको भनाइ छ ।
यो प्रणलीले रोजगारदाता, श्रमिक र तालिम प्रदायकबीच समन्वयकारी भूमिका निर्वाह गर्न सहयोग गर्ने र राष्ट्रिय मानव संशाधन प्रणालीको अनुगमन, मूल्याङ्कन तथा विश्लेषणको आधार निर्माण गर्ने बताए । यस्तै, उनले श्रम तथा रोजगार सेवालाई जनताको घरदैलोमा पु¥याउन श्रम मन्त्रालयले सुरुवात गरेको ‘श्रम संसार’ पोर्टल उल्लेख्य कार्य भएको बताए । यसलाई निकट भविष्यमा नागरिक एपमा आबद्ध गरी सम्पूर्ण जनतासँगको पहुँच अभिवृद्धि गर्न निर्देशन गर्ने प्रधानमन्त्री ओलीले प्रतिबद्धता जनाए । श्रम संसार पोर्टलले सरकार, निजी क्षेत्र र जनतालाई जोड्ने पुलको रूपमा काम गर्ने उनको भनाइ छ । यसको प्रभावकारिताका लागि जनताको प्रतिबद्धताः श्रमिक, महिला र युवाको रोजगार सुरक्षामा जोड दिनु आवश्यक पर्ने उनले स्पष्ट पारे । ‘सीपमूलक तालिम संस्कृतिको विकास र विस्तारमार्फत दिगो रोजगारीको प्रवद्र्धन सम्भव हुनेछ’, उनले भने । तीन तहका सरकार, नागरिक समाज, निजी क्षेत्र, गैरसरकारी क्षेत्रसँगको साझेदारी र सहकार्यका माध्यमले डिजिटल सरकारको प्रारूप तयार गरेको उनको भनाइ छ । यस्तै, उनले श्रम बजारको विकास गर्न तालिम, उद्यमशीलताको विकास गर्न सहुलियतपूर्ण कर्जा सरकारले उपलब्ध गराउने बताए ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले सरकारले आगामी दशकलाई आन्तरिक समृद्धि प्रवर्द्धनको दशक बनाउने भएकाले सबैको सहयोग र समन्वय आवश्यक रहेको बताए । आन्तरिक समृद्धि प्रवद्र्धनको दशक बनाउन रणनीतिक कार्ययोजना निर्माण गरिरहेको जानकारी दिँदै उनले मुलुकको समृद्धिको यात्रामा सहभागी हुन सबै निकाय, वर्ग, समुदाय, क्षेत्रलगायतलाई आह्वान गरे ।
कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले अब योग्यता र क्षमता भएका नागरिकले सहजै रोजगारी पाउने अवस्था सिर्जना भएको बताए । मन्त्री भण्डारीले ‘श्रम संसार’ पोर्टलले पहुँच र भनसुनको भरमा रोजगार पाउने भाष्यको अन्त्य गर्ने दाबी गरे । उनले युवाहरूले आफ्नो योग्यता र क्षमताका आधारमा मुलुकको जुनसुकै ठाउँमा बसेर रोजगारी गर्न सक्ने बताए । मन्त्री भण्डारीले स्थानीय तहबाट सबै प्रकारका श्रम तथा रोजगारसम्बन्धी सेवासुविधा प्रदान गर्न अभियान सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले भने, ‘यो पोर्टलको सबै स्थानीय तह र श्रमिकसँग मोबाइल एप्लिकेसनमार्फत पहुँच पुग्नेछ । योसँगै स्थानीय तहबाट सबै प्रकारका श्रम तथा रोजगारसम्बन्धी सेवासुविधा प्रदान गर्न मन्त्रालयले अभियान सञ्चालन गर्नेछ ।’
सरकारले घोषणा गरेको ‘आन्तरिक रोजगार प्रवर्द्धन दशक’लाई प्रभावकारी कार्यान्वयन गर्न श्रम संसार पोर्टलले श्रम बजार सूचना प्रणालीमा सहयोगी सिद्ध हुने उनले बताए । सरकारका मुख्यसचिव एकनारायण अर्यालले आन्तरिक रोजगार प्रवर्द्धनमा यस पोर्टलको महत्वपूर्ण र सहयोगी भूमिका निर्वाह गर्ने बताउँदै यसलाई सफल बनाउन तीनै तहका सरकारले अपनत्व ग्रहण गर्नुपर्नेमा जोड दिए । अन्तर्राष्ट्रिय श्रम संगठनको नेपालस्थित कार्यालयका निर्देशक नुमान ओज्कानले श्रम संसार पोर्टलमा अन्य सरोकार भएका पक्षसँगै रोजगार खोजकर्ताको विश्वास कायम राख्नुपर्ने आवश्यकता औँल्याए ।
श्रम संसार पोर्टल के हो ?
यो श्रम बजारसम्बन्धी सूचना प्रणाली श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले निर्माण गरेको आधिकारिक सूचना प्रवाह गर्ने एउटा सामाजिक सञ्जाल हो । मन्त्रालयका अनुसार श्रम संसार राष्ट्रिय श्रम बजारमा रहेका रोजगारी, तालिम तथा उद्यमशीलताका अवसरको सूचना सहजै उपलब्ध गराउने उद्देश्यका साथ निर्माण गरिएको हो ।
यस प्रणालीमा तीनै तहका सरकार, रोजगार खोजकर्ता, रोजगारदाता, तालिम प्रदायक, स्वरोजगार, तथा श्रम बजारका अन्य सरोकार भएका निकायसमेत आबद्ध रहने भएकाले श्रम बजारसँग सम्बन्धित सम्पूर्ण सूचना तथा जानकारी प्राप्त गर्न सकिने छ । यस पोर्टल संघ तथा प्रदेश सरकारको समन्वयमा हरेक स्थानीय तहमा रहेका रोजगार सेवा केन्द्रमार्फत सञ्चालन हुनेछ । यसको प्रयोगले देशभर रहेका रोजगारीका अवसरबारे जानकारी लिई सहजै आवेदन दिन सकिने मन्त्रालयले जानकारी दिएको छ । सीपमूलक तालिमबारे जानकारी लिन तथा सजिलै आवेदन दिन सकिने र स्वरोजगार समेतले आफ्नो सीपको विज्ञापन गर्न सक्ने यस पोर्टलको विशेषता हो ।
पोर्टलमा निःशुल्क दर्ता तथा सञ्चालन प्रक्रियाको व्यवस्था गरिएको छ । श्रम बजार सम्बन्धित नीति, नियम तथा जानकारी पोर्टलमा उपलब्ध हुनेछ । मन्त्रालयले यसको सहज पहुँचका लागि यही वैशाखभित्र ‘आईओएस’ र ‘एन्ड्रोइड’ दुवैमा उपलब्ध मोबाइल एपको सुरुवात गर्ने जनाएको छ । पोर्टल सञ्चालन, अन्तरतह समन्वय तथा निजी क्षेत्रको आबद्धता सुनिश्चित गर्न आवश्यक नीतिगत तथा संस्थागत प्रबन्ध मिलाउने विषयमा भएका आगामी योजनाका बारेमा पनि मन्त्रालयले जानकारी दिएको छ । यसअघि सन् २०२३ मा कोशी प्रदेशमा विकास गरी प्रारम्भिकरूपमा विराटनगर, इटहरी र दुहबी नगरपालिकामा परीक्षण गरिएको थियो ।
छोटो समयमा उल्लेखनीय सफलता हासिल गरेको भन्दै कोशी प्रदेशका एक सय ३७ वटै स्थानीय तह यस प्रणालीमा आबद्ध भएका थिए । देशभरका सात सय ५३ वटै स्थानीय तहलाई श्रम संसार पोर्टमा समेट्न मन्त्री भण्डारीको अग्रसरतामा प्राविधिक समितिले काम गरेको थियो । मन्त्रालय र स्वीसकन्ट्याक्टबीच गत मार्च १० मा सम्पन्न पाँचौँ राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनका अवसरमा ‘श्रम संसार’ प्रणालीलाई देशव्यापी रूपमा विस्तार गर्ने साझेदारीमा हस्ताक्षर भएको थियो ।