पसिनाले भिजेको निधार, च्यातिएको चप्पल र चिसो छानामुनि निदाउने ती थाकेका आँखाहरू हामीले देख्दैनौँ, देखे पनि बेवास्ता गर्छौँ । तर त्यही पसिना, त्यही मेहनत, अनि त्यही थकाइले देश बनिरहेको छ । सडकका इँटाहरू सजिन्छन्, भवनहरू ठडिन्छन्, खेतमा अन्न उम्रन्छ, अनि पसलहरूमा मुस्कान ल्याइन्छ । यसबाहिर श्रमिकहरूका गुनासाहरू सुनिँदैनन्, किनकि उनीहरूको आवाज सधैँ दबिन्छ, बेवास्ता गरिन्छ ।
हरेक वर्ष मजदुर दिवसको दिन सरकार बोल्छ, नेताहरू भाषण गर्छन्, त्यति मात्र होइन मजदुरकै नेताहरूले पनि आफ्नो हकहितका विषयमा भाषण गर्छन् । तर भाषणपछि उनीहरूको आवाज फेरि हराउँछ । दैनिक ज्यालादारीमा काम गर्ने ती हातहरू भोलिपल्टदेखि फेरि अनिश्चित भविष्यको बोझ बोकेर पसिनाको कारोबारमा फर्कन्छन् । श्रमिकको अधिकारको चर्चा संविधानमा छ, ऐनमा लेखिएको छ । तर व्यवहारमा त्यो अधिकार कता हराउँछ थाहा हुँदैन । के श्रमिकलाई तलब समयमा मिल्छ ? के उनीहरूको काम सुरक्षित छ ? के उनीहरू बिरामी हुँदा उपचारको सुविधा पाउँछन् ? के उनीहरूले उमेर ढल्किएपछि बाँच्न आश्रय पाउँछन् ? यी सबै प्रश्नहरूको उत्तर छैन र यदि उत्तर छ भने त्यो केवल मौनता हो ।
नेपालको अर्थतन्त्रको एक प्रमुख आधार भनेको वैदेशिक रोजगारी हो । लाखौँ नेपाली श्रमिकहरू खाडी देशदेखि कोरियासम्म पसिना बेच्न गएका छन् । उनीहरूले कमाएको पैसाले देशमा भित्रिने रेमिट्यान्सले विदेशी मुद्रा सञ्चिति बढेको छ । तर उनीहरूको जीवनचाहिँ संकट र पीडाले भरिएको छ । तलब नपाउने, ओभरटाइमविना अतिरिक्त श्रम, दुर्घटनामा परे उपचार नपाउने, अनि दूतावासबाट समेत साथ नपाउने अवस्थामा उनीहरू बाँच्छन् । सरकार भाषणमा उनीहरूलाई राष्ट्रिय गौरव भने पनि व्यवहारमा उनीहरूको सुरक्षाका लागि प्रभावकारी काम भएको देखिन्न ।
देशभित्रका श्रमिकहरूको अवस्था पनि फरक छैन । निर्माण क्षेत्रमा काम गर्ने मजदुरहरू हेल्मेटविनाको काम, कुनै सुरक्षा उपकरण नपाई जोखिम मोलेर काम गर्न बाध्य छन् । उद्योगमा काम गर्नेहरूलाई श्रमको उचित मूल्य दिइँदैन । खासगरी महिला श्रमिकहरू थप जोखिममा छन् । उनीहरू यौनजन्य हिंसा, तलब नपाउने, मातृत्व सुरक्षाबाट बञ्चित हुनेजस्ता समस्याको सामना गरिरहेका छन् । घरेलु कामदारहरू अझ गम्भीर अवस्थामा छन्, उनीहरूको श्रम अदृश्य छ, न कानुनी संरक्षण छ, न समाजको नजर ।
श्रमको सम्मान भनेको केवल एकदिनको भाषण होइन, यो त एक निरन्तर अभ्यास हो, जसले श्रमिकको जीवनमा परिवर्तन ल्याउने सामथ्र्य राख्नुपर्छ । सरकारको जिम्मेवारी भनेको केवल नीतिहरू बनाउन मात्र होइन, ती नीतिहरूलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्नु हो । त्यसका लागि श्रमिकको लागि निम्न कार्यहरू तुरुन्त थालिनुपर्छ ।
सुरक्षित कार्य वातावरण सुनिश्चित गरिनुपर्छ । प्रत्येक कामदारलाई सुरक्षा सामग्री अनिवार्यरूपमा उपलब्ध गराइनुपर्छ । निर्माणस्थल, उद्योग र अन्य श्रम क्षेत्रको नियमित निरीक्षण गर्नुपर्नेछ । श्रमिकको न्यूनतम तलब सरकारी मापदण्डअनुसार कार्यान्वयनमा ल्याइनुपर्छ र मालिकहरूले उल्लंघन गरे कडा कारबाही हुनुपर्छ । स्वास्थ्य बीमा, पेन्सन, अपाङ्गता भत्ता, मातृत्व सुविधा र सामाजिक सुरक्षा कोषमा श्रमिकको पहुँच सजिलो, सरल र पारदर्शी हुनुपर्छ ।
श्रमको सम्मान तब मात्र सम्भव हुन्छ, जब श्रमिक स्वयं सुरक्षित, सम्मानित र आत्मनिर्भर हुन्छन् । श्रमिकको बच्चाले राम्रो विद्यालय जान पाओस्, बिरामी हुँदा अस्पताल जान पाओस्, बुढेसकालमा उनीहरू राज्यको भरमा बाँच्न सकून् यो सपना होइन, यो हक हो । यसलाई सुनिश्चित गर्नु सरकारको कर्तव्य हो, विलासिता होइन ।
अझ गम्भीर कुरा त के छ भने कतिपय श्रमिकको नाममा चल्ने सरकारी कार्यक्रमहरू वास्तविक श्रमिकभन्दा टाठाबाठा र पहुँचवालाले कब्जा गरेका छन् । जति सरकारी अनुदान आउँछ, त्यो मध्यमवर्गीय ‘सहयोगकर्ता’ले बोक्छन् । तर खेत जोत्ने किसान, ढुंगा बोक्ने मजदुर, पसलमा दिनभर उभिने कामदारलाई त्यो सुविधा छुँदैन । यसरी श्रमिकको नाममा चल्ने योजनाले यदि श्रमिककै जीवन नछोए, त्यो योजनाको अर्थ नै छैन ।
हामी सबैले बुझ्नुपर्छ, यो देश राजनीतिक भाषणले होइन, श्रमिकको पसिनाले चल्छ । सहरका चम्किला भवनहरू, सडकमा गुड्ने गाडीहरू, बजारमा पाइने सामानहरू, अनि सेवा क्षेत्रका मुस्कान, सबैको आधार श्रमिक हो । तर जबसम्म सरकार उनीहरूको योगदानको उचित मूल्य दिँदैन, तबसम्म साँचो विकास सम्भव छैन ।
श्रमिकको आँसु त्यति सस्तो होइन कि त्यसलाई देखेझैँ गरेपछि बिर्सिन सकिन्छ । ती आँसुहरू कहिले प्रतिशोध बन्छन्, कहिले बिद्रोह । त्यसैले श्रमिकको आँसु पुछ्नुहोस्, उनीहरूलाई हाँस्ने आधार दिनुहोस् । किनकि उनीहरूको मुस्कानमै देशको भविष्य लुकेको छ ।
यो शब्दहरू केवल लेख होइन, आवाज हो । उनीहरूको आवाज, जो सडकमा हराइरहेका छन्, उद्योगमा थकाइमा लुकेका छन्, अनि परदेशमा पीडामा गुम्सिएका छन् । उनीहरूको आवाज हजुर सुन्नुहोस्, महसुस गर्नुहोस्, अनि कार्य गर्नुहोस् । अब समय आएको छ, श्रमिकका लागि साँचो नीतिहरू बनाउने, कार्यान्वयन गर्ने, अनि उनीहरूको जीवनमा सार्थक परिवर्तन ल्याउने ।