नेपालजस्तो विकासोन्मुख राष्ट्रमा फोहोर व्यवस्थापन एक प्रमुख चुनौतीका रूपमा देखापरेको छ । विशेषगरी सहरी क्षेत्रमा यो समस्या दिन प्रतिदिन जटिल बन्दै गएको छ । घना बस्ती, सीमित सहरी पूर्वाधार, जनसंख्या वृद्धिको चाप, र नागरिकको लापरवाहीपूर्ण व्यवहारले गर्दा फोहोर व्यवस्थापनको अवस्था अत्यन्तै दयनीय देखिन्छ । सडकमा हिँड्दा कतै धुलो, कतै फोहोर तथा प्लास्टिकका पोकाहरू देखिन्छन् । घुम्न जाँदा, वनभोज खान जाँदा पनि बियरका बोतलहरू वा खानेकुराको रेपर जथाभावी फालिएको देखिन्छ । कतै अन्य फोहोरले सहर नराम्रो देखिन्छ भने कतै अस्पताल तथा उद्योगजन्य फोहोरले जनस्वास्थ्यमा खतरा उत्पन्न गरिरहेको हुन्छ । अझ गम्भीर कुरा त के भने यस्तो प्रवृत्ति ग्रामीण क्षेत्रतर्फ समेत फैलिँदै गएको छ, जुन अत्यन्तै चिन्ताको विषय हो ।
पहिले गाउँघरहरू तुलनात्मकरूपमा सफा देखिन्थे । मानिसहरूको जीवनशैली सरल थियो, प्लास्टिकजस्ता नकुहिने वस्तुको प्रयोग कम थियो । वातावरणसँग मेल खाने व्यवहार देखिन्थ्यो । फोहोरलाई घर–आँगनबाट बाहिर फाल्नुपर्दैनथ्यो । कुहिने फोहोर मात्रै धेरै हुन्थे, जसलाई करेसाबारीमै कुहाइन्थ्यो । तर अहिले बजार विस्तार, यातायातको पहुँच र उपभोग्य वस्तुको विविधता गाउँसम्म पुगेपछि फोहोर पनि सहर तथा औद्योगिक क्षेत्रबाट गाउँसम्मै पुगेको छ । विडम्बना त के हो, शिक्षा लिने दर बढ्दो क्रममा रहे पनि वातावरणीय चेतना भने समानुपातिकरूपमा वृद्धि भएको छैन । मानिसहरू पढेलेखेका छन् तर सार्वजनिक ठाउँमा फोहोर गर्न हुँदैन भन्ने चेतनाको विकास हुन सकेको छैन । यसले देखाउँछ हाम्रो शिक्षाले चेतनाको विकासमा अपेक्षित विकास गराउन सकिरहेको छैन ।
फोहोर मुख्यतः कुहिने र नकुहिने गरी दुई प्रकारका हुन्छन् । जुनकुरा हामीलाई हाम्रा अभिभावक तथा गुरुहरूले बारम्बार सिकाउँदै आए तर हामीले त्यसको व्यवस्थापनमा कहिल्यै पनि ध्याद दिएनौँ । त्यसैको परिणाम स्वरूप आज शिक्षाको कमी भएका गाउँ तथा जिल्लामा मात्र होइन शतप्रतिशत साक्षरता भएका गाउँ, सहर तथा जिल्लाहरूमा पनि अव्यवस्थित फोहोरको डंगुर देखिरहेका छौँ, त्यसको असर भोगिरहेका छौँ तर पनि हामी फोहोर व्यवस्थापनमा दिनहुँ चुकिरहेका छौँ । हामी शिक्षित छौँ, लाखौँ मात्र होइन करोडौँ मूल्यका गाडी चढ्छौँ, गाडीको झ्यालको सिसा लगाएर विकास, निर्माण र फोहोरोको व्यवस्थापनको बारेमा भइरहेको कामको आलोचना गर्छौँ तर त्यही गाडीको सिसा खोलेर गाडीभित्र आफैँबाट सिर्जित फोहोर सडक किनार, बस्ती, खेतबारी जता पनि फ्याँक्छौँ । पढेलेखेका छौँ सडकमा हिँड्दै गर्दा फोहोर फ्याँक्छौँ, विद्यालय, कलेज र हस्पिटहरू सञ्चालन गर्छाैँ तर पनि फोहोर व्यवस्थापनमा एक प्रतिशत पनि लगानी गर्दैनौँ । मन्दिर बनाएर धर्म गरेको स्वाङ गर्छौँ तर त्यहाँ फोहोर जम्मा गर्ने एउटा कन्टेनर राख्दैनौँ । त्यसले हाम्रो चेतनाको स्तर कस्तो छ भन्ने देखाउँछ । अहिलेको फोहोर व्यवस्थापनमा सरकार मात्र होइन आम नागरिकको भूमिका पनि कमजोर छ । तसर्थ, फोहोर व्यवस्थापनका लागि प्रत्येक नागरिक जो जहाँ छौँ त्यहाँ हामी आफैँ कर्तव्यबाट चुकिरहेका छौँ । फोहोर व्यवस्थापनमा अरूले गरेको काम ठीक वा बेठीक भनेर आलोचनाको झन्झटतिर फस्नुभन्दा प्रत्येक नागरिकले आफ्नो कर्तव्य इमान्दारितासाथ सरक्क गर्ने हो भने यो देशलाई सुन्दर र सफा बनाउन सकिन्छ ।
कुहिने फोहोरलाई मल बनाउन सकिन्छ र यसलाई व्यवस्थापन गर्न तुलनात्मकरूपमा सजिलो हुन्छ । तर नकुहिने फोहोरजस्तै प्लास्टिक, रसायनयुक्त फोहोर र अस्पतालबाट निस्कने जैविक जोखिमयुक्त फोहोर–वातावरणका लागि दीर्घकालीनरूपमा विनाशकारी हुन्छन् । यस्ता फोहोरले माटो, पानी र वायुलाई प्रदूषित गर्नुका साथै मानिस तथा जनावरको स्वास्थ्यमा समेत गम्भीर असर पार्न सक्छन् । कतिपय अवस्थामा त प्लास्टिकजन्य खाद्यपदार्थ खाएर गाईलगायतका चौपाया जनावरहरू सडकमै मरेका दृश्य देखिन्छन्, जुन अत्यन्तै दुःखद् र चिन्ताजनक कुरा हो । यसले केवल वातावरण प्रदूषण मात्र होइन, निर्दोष पशुको जीवन समेत संकटमा पारिरहेको स्पष्ट देखिन्छ ।
नेपालमा सार्वजनिक सडक, बजार चोकमा मात्र होइन मठमन्दिरहरूमा पनि अझै पनि डस्टबिन, फोहोर संकलन गर्ने कन्टेनर वा फोहोर छुट्याउने प्रणालीको अभाव छ । केही ठाउँमा प्रयास गरिए तापनि ती पूर्णरूपमा कार्यान्वयन हुन सकेका छैनन् । सडक किनारमा फोहोरको थुप्रो लाग्नु, खुला स्थानमा कुहिएको खाद्यपदार्थ गन्हाउनु र प्लास्टिक जथाभावी देखिनु सामान्य दृश्य भइसकेको छ । जुन दृश्य सभ्य समाजको लागि स्वीकार्य हुनै सक्तैन । कतिपय ठाउँमा त निर्माण कार्यबाट निस्केको धूलो र माटोका कारण सहर आफैँ फोहोर देखिएको छ । अझ त्यसैमा मानिसहरूले झ्यालबाट फोहोर फाल्ने, सार्वजनिक स्थानमा दिसा–पिसाब गर्नेजस्ता कार्यले स्थिति झनै गम्भीर बनाएको छ। त्यसैले यस्ता कार्यहरू पूर्णरूपमा बन्द गरिनुपर्छ । खुला दिसा मुक्त क्षेत्र बनाउनुपर्छ, जसका लागि विभिन्न स्थानमा शौचालयको निर्माण गर्नु आवश्यक छ र त्यसको उचित संरक्षण पनि जरुरी छ ।
यस समस्याको समाधान खोज्न राज्यको भूमिका अत्यन्तै महत्वपूर्ण हुन्छ । जनचेतना फैलाउने कार्यक्रमहरू, विद्यालयदेखि समुदायसम्मका सचेतनात्मक अभियान, स्थान–स्थानमा डस्टबिन तथा विविध किसिमका फोहोर छुट्याउने पूर्वाधारको निर्माण र कानुनीरूपमा कडा कदम चाल्न आवश्यक छ । विद्यालय तहदेखि नै जागरण ल्याउने, विद्यार्थीहरूलाई सधैं सच्चा नागरिक बन्न सिकाउने र सामाजिक अभियानहरू सञ्चालन गर्ने काम अनिवार्य छ । तर केवल सरकार वा संस्थाको प्रयासले मात्र फोहोर व्यवस्थापन सम्भव छैन । यसका लागि प्रत्येक नागरिकले आफ्नो व्यक्तिगत तथा सामाजिक कर्तव्य सम्झेर अगाडि बढ्न आवश्यक छ । घर वरिपरि सफा राख्ने, सार्वजनिक स्थानमा फोहोर नफाल्ने, फोहोरलाई वर्गीकरण गर्ने, पुनःप्रयोग गर्न मिल्ने वस्तुहरू प्रयोग गर्नेजस्ता व्यावहारिक अभ्यासहरू अनिवार्यरूपमा अपनाउनुपर्छ । घर–घरमा अनिवार्यरूपमा कुहिने फोहोर फाल्ने छुट्टै डिब्बा राख्न पनि प्रोत्साहन गर्नुपर्छ ।
नेपालको सामाजिक संरचना हेर्ने हो भने बिहान उठ्नेबित्तिकै चुलोचौका गर्ने, घर लिपपोत गर्ने, वरिपरिका छेउछाउ सफा गर्नेजस्ता परम्परागत अभ्यास अझै पनि प्रायः सबै ठाउँमा कायमै छन् । यिनै अभ्यासहरूलाई आधुनिक जीवनशैलीसँग समायोजन गर्दै अघि बढ्न सकिन्छ । तर विडम्बनाको कुरा के छ भने आजकल मानिसहरूले आफ्नो घरभित्र सफा राखे पनि बाहिर फोहोर गर्न लाज मान्दैनन् । आफूले गरेकै फोहोर अर्काको गेट अगाडि फाल्न समेत हिचकिचाउँदैनन् । कतिपय त सार्वजनिक स्थानमा दिसा–पिसाब गर्ने, सडकमा थुक्ने, चुरोट वा पान मसला खाएर जथाभावी थुक्नेजस्ता कुरूप व्यवहार गर्न पनि पछि पर्दैनन् । यस्ता क्रियाकलापले केवल वातावरण मात्र बिगार्दैन, समाजको सामूहिक छविलाई समेत धुमिल पार्छ ।
फोहोर व्यवस्थापनमा स्थानीय सरकार तथा नगरपालिकाको भूमिका अझ महत्वपूर्ण हुन्छ। जनसंख्याको अनुपातमा जनशक्ति, उपकरण, तथा पूर्वाधारहरू पु¥याउन सकिए मात्र यो समस्या दीर्घकालीनरूपमा समाधान हुन सक्छ । तर सरकारको प्रयासलाई सघाउने काम नागरिकको हो । नागरिक आफैँ सचेत नभएसम्म सरकारका नीतिहरू पनि प्रभावकारी हुन सक्दैनन् ।
अहिलेको समयमा सबैभन्दा बढी ध्यान दिनुपर्ने कुरा भनेको प्लास्टिकको प्रयोग घटाउनु हो, धुलोरहित वातावरण बनाउनु हो । प्राकृतिक स्रोतहरूको संरक्षण गर्नु हो । हाम्रा बजारहरू मात्र नभई मन्दिर आसपासका क्षेत्र, पार्क र सार्वजनिक स्थलहरू प्लास्टिकका झोलाहरू, बट्टा र साना प्याकेटबाट भरिएका छन् । यी सबै फोहोरमा परिणत हुन्छन् र वर्षौंसम्म नष्ट नहुने गरी वातावरणमा रहन्छन् । प्लास्टिकको सट्टामा कागज, कपडा, वा पुनःप्रयोग गर्न मिल्ने सामग्रीको प्रयोगलाई प्रोत्साहन गरिनु आवश्यक छ । यसका साथै सामूहिक सरसफाइ अभियान सञ्चालन गर्नु, विद्यालयस्तरबाट वातावरणीय शिक्षा दिनु तथा सामाजिक सञ्जालमार्फत जनचेतना फैलाउनुजस्ता उपायलाई व्यापक बनाउनुपर्छ । साथै, धुवाँ फाल्ने कलकारखानाहरूले पनि कसरी न्यूनतम प्रदूषण गर्ने भन्ने उपाय अवलम्बन गर्दै अघि बढ्न आवश्यक छ । सडकमा निस्किने धुलोलाई नियन्त्रण गर्ने, निर्माण सामग्री बाटोमा नझर्ने सुनिश्चित गर्ने र निर्माण कार्य गर्दा धुलो कम उड्ने तरिकाबाट सीमाबद्धरूपमा कार्य गर्न सकेमा फोहोर पनि कम हुनेछ र समाजले पनि सफा तथा व्यवस्थितस्वरूप पाउनेछ ।
अर्को समस्या भनेको नेपालको धेरै सार्वजनिक शौचालयहरूको अवस्था अत्यन्त दयनीय हुनु हो । सफा नभएका, प्रयोग गर्न नसकिने वा अव्यवस्थित शौचालयहरूले पनि फोहोर तथा दुर्गन्ध फैलाउने प्रमुख स्रोत बनेका छन् । यसतर्फ सरकारले मात्र होइन, प्रयोगकर्ताले पनि उत्तरदायी बन्न आवश्यक छ । आफू प्रयोग गरेपछि सफा राख्ने संस्कार विकास भएमा स्थिति केही हदसम्म सुधार हुन सक्छ । नेपालको सरकारी कार्यालयदेखि निजी संस्थानसम्म, सर्वसाधारणको जमघट हुने स्थानजस्तै सरकारी अस्पताल, विश्रामस्थल, तथा अन्य कार्यालयमा समेत सरसफाइको उचित व्यवस्था देखिँदैन । फोहोर शौचालयले त झन् नेपालको छवि नै बिगारिदिएको छ । अब व्यक्तिगतदेखि सरकारी निकायसम्म सबैले सरसफाइमा विशेष ध्यान दिनुपर्छ। ‘म यही ठाउँमा बस्नुपर्छ, यो ठाउँ हाम्रो हो’ भन्ने सोच सबैसँग भयो भने परिवर्तन सम्भव छ । नेपाल अझै पनि सुन्दर छ र यसलाई फोहोररहित बनाइ अझै सुन्दर बनाउन सकिन्छ । चाहे सरकारी होस्, सेना, प्रहरी, कर्मचारी, राजनीतिज्ञ, विद्वान, डाक्टर, इञ्जिनियर वा आम नागरिक जो जुन पद वा पेसामा भए पनि आखिर हामी सबैलाई स्वच्छ वातावरण नै चाहिन्छ । त्यसैले यो हामी सबैको साझा कर्तव्य र दायित्व हो ।
यसरी भन्न सकिन्छ, वातावरण संरक्षण र फोहोर व्यवस्थापन अब केवल सरकारी एजेन्डा मात्र होइन, हाम्रो सामाजिक तथा नैतिक उत्तरदायित्व हो । आजैदेखि हामी प्रत्येकले आफ्नो घर, टोल र सार्वजनिक स्थल सफा राख्ने प्रण गर्नुपर्छ । बच्चाबच्चीलाई सानैदेखि सफा रहन सिकाउनु, स्कुलमा ‘स्वच्छता सप्ताह’ मनाउनु र टोलटोलमा सरसफाइसम्बन्धी अभियान चलाउनुजस्ता साना प्रयासले पनि ठूलो परिवर्तन ल्याउन सक्छन् । हामीले आज जुन संस्कार विकास गर्छौं, त्यसैको आधारमा हाम्रो आउँदो पुस्ताले पनि सिक्नेछ ।
हामीले आज प्रयास गरेनौँ भने भोलिका पुस्ताले झनै प्रदूषित, अस्वस्थ र अनुपयुक्त वातावरणमा बाँच्न बाध्य हुनेछन् । यदि हामी आजैदेखि सचेत भयौँ भने कुहिने र नकुहिने फोहोर छुट्यायौँ, पुनःप्रयोग गर्ने बानी बसाल्यौँ र सार्वजनिक स्थानलाई आफ्नै घरसरह मानेर सरसफाइ गर्यौँ भने नेपाललाई सफा, हरित र समृद्ध बनाउनु कुनै टाढाको सपना रहनेछैन । अब समय आएको छ । हिमाल, पहाड, तराई, गाउँ–बेसी, लेक, पोखरी, ताल–तलैया, बाटो–घाटो, सार्वजनिक पार्कलगायत सम्पूर्ण क्षेत्रहरू सफा बनाउन । हामी आजको सभ्य मानव भनेर चिनिन चाहन्छौ भने त्यो हाम्रो व्यवहारले देखिनुपर्छ ।
यसैले भन्न सकिन्छ फोहोर व्यवस्थापन एक साझा जिम्मेवारी हो, जसमा राज्य, स्थानीय सरकार र प्रत्येक नागरिकको सहभागिता आवश्यक छ । चेतनाको अभावले सिर्जना गरेको संकटलाई सचेत नागरिक र उत्तरदायी शासनले मात्र समाधान गर्न सक्छ। आजैदेखि सुरु गरौं—हाम्रो घर, टोल, सहर र देशलाई सफा, सुन्दर, र स्वच्छ बनाउने अभियानमा हातेमालो गरौँ ।