मोरङ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ६ सय ४० मिलिग्राम सहित सुन्दरहरैंचा नगरपालिका-८ बस्ने २९ वर्षीय विकेश भट्टराईलाई बिहीबार दिउँसो पक्राउ गरेको छ ।
तनहुँ । आँबुखैरेनी गाउँपालिका-४ बेनिटारस्थित सडकबाट बिहीबार दिउँसो २ जनालाई प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट मुग्लिन पुलजिपबाट खटिएको प्रहरीले लागूऔषध डाईजेपाम ५० एम्पुल, फेनारगन ५० एम्पुल र ब्रुप्रेनोर्फिन ५० एम्पुल सहित म्याग्दी घर भएका २० वर्षीय सुजल छन्त्याल र २० वर्षीय मिस्सल पुनलाई पक्राउ गरेको छ ।
कैलाली । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले धनगढी उपमहानगरपालिका-८ धनगढी गाउँबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९० मिलिग्राम सहित सोही ठाउँ बस्ने २३ वर्षीय सुवास शाही, १८ वर्षीया किशोरी र जानकी गाउँपालिका-४ बस्ने २६ वर्षीय तिला राम कठरियालाई शुक्रबार बिहान पक्राउ गरेको छ ।
बर्दिया । अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय ४० मिलिग्राम सहित भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका २ जना कास्की पोखरा महानगरपालिका-२८ माझ्ठाना बस्ने २८ वर्षीय महेश तिवारी र तनहुँ ब्यास नगरपालिका-६ दमौली बस्ने ३० वर्षीय बिपिन अधिकारीलाई बिहीबार साँझ इलाका प्रहरी कार्यालय मैनापोखर र प्रहरी चौकी कालिकाबाट खटिएको प्रहरीले पक्राउ गरेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।