काठमाडौं । सुप्रिम हेल्थ केयर लिमिटेड र ग्लोबल आईएमई क्यापिटलबीच सम्झौता भएको छ । कम्पनीले साधारण सेयर (आईपीओ) निष्काशन गर्नका लागि बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटललाई नियुक्त गरेको हो ।
कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी १२ करोड ५० लाख रुपैयाँ बराबरको १२ लाख ५० हजार कित्ता साधारण सेयर निष्काशन गर्नेछ । सम्झौतामा सुप्रिम हेल्थ केयर लिमिटेडको तर्फबाट अख्तियार प्राप्त कार्यकारी सञ्चालक मुकेश शर्मा र ग्लोबल आईएमई क्यापिटल लिमिटेडको तर्फबाट अख्तियार प्राप्त प्रमुख कार्यकारी अधिकृत मन्दिप लुईँटेलले सम्झौता–पत्रमा हस्ताक्षर भएको गरेका छन् । विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वद्वारा प्रवद्र्धित विगत छ वर्षदेखि लगातार नाफा कमाउन सफल यस सुप्रिम हेल्थ केयर लिमिटेड विसं २०६६ सालमा कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भई सञ्चालनमा आएको कम्पनी हो । यसको रजिस्टर्ड (केन्द्रीय) कार्यालय बारा जिल्लाको परवानीपुरमा रहेको छ भने सम्पर्क कार्यालय गहनापोखरी काठमाडौंमा रहेको छ ।
नेपालकै अग्रणी औषधि उत्पादक कम्पनीको रूपमा स्थापित यस कम्पनीले ट्याब्लेट, क्याप्सुल, क्रिम, लोसन र सोलुसनलगायतका ८५ भन्दा बढी उत्पादनहरू ३५ भन्दा बढी उपचारात्मक श्रेणीमा उत्पादन तथा वितरण गर्दै आइरहेको छ । कम्पनीले औषधि उत्पादन तथा वितरणसँगै सामाजिक उत्तरदायित्वअन्तर्गत निःशुल्क स्वास्थ्य शिविर, औषधि वितरण तथा स्वास्थ्य साक्षरताका विविध कार्यक्रमहरू सञ्चालन गर्दै समाजमा सकारात्मक प्रभाव पार्दै आइरहेको छ ।