काठमाडौ । यात्रुहरूका लागि मुलुकभर सवारी साधन र ड्राइभर सेवा उपलब्ध गराउँदै आएको स्पार्क कारले सोलुखुम्बुको गौरीटाप, पत्तालेमा स्पार्क एड्भेञ्चर, २०२५ आयोजना गर्ने भएको छ ।
कम्पनीले यही वैशाख २६ देखि २८ गतेसम्म ‘गेट वे टु एभरेस्ट’ थिममा तेस्रो संस्करणको स्पार्क एड्भेञ्चर गर्न लागेको हो । सो एड्भेञ्चरमा दुई सयभन्दा बढीको सहभागिता रहने स्पार्क कारका निर्देशक सिताराम घिमिरेले जानकारी दिए । दिगो पर्यटन र ग्रिन मोबिलिटी प्रवर्द्धन गर्दै ओझेलमा परेका पर्यटनीय गन्तव्यको प्रचारप्रसारका लागि स्पार्क एडभेञ्चर आयोजना गरिएको घिमिरेले बताए । उनका अनुसार सहभागीले बीवाईडीको विद्युतीय सवारीमा दुईतर्फी यात्रा गर्नेछन् । काठमाडौंबाट सडकमार्फत एकै दिनमा पुग्न सकिने गौरीटाप सगरमाथालगायतका हिमाल अवलोकनका लागि उपयुक्त गन्तव्य हो ।
समुद्री सतहबाट तीन हजार मिटरको उचाइमा रहेको गौरीटाप धार्मिक तथा पर्यटकीय दृष्टिले प्रचुर पर्यटकीय सम्भावना भएको गन्तव्य हो । काठमाडौंबाट दुई सय ३० किलोमिटरको दूरीमा रहेको गौरीटाप नेचासल्यान गाउँपालिका र सोलु दूधकुण्ड नगरपालिकाको सीमामा पर्छ । सत्ययुगमा माता गौरीले तपस्या गरेको यो स्थान धार्मिक दृष्टिले निकै महत्वपूर्ण रहेको गौरीटाप क्षेत्रका संरक्षण एवं प्रवर्द्धन अभियन्ता लौरेश्वर बाबाले बताए । माता गौरीले तपस्या गरेको स्थानमा रहेको शिलामा गौरी नामक गाईले दूध दिने क्रममा बाघले आक्रमण गरेको सो क्रममा गाईको टाप (खुर) ढुंगामा बसेकाले यस ठाउँको नाम गौरीटाप रहन गएको जनविश्वास छ ।
चारपाङ्ग्रे सवारीमै बसेर सगरमाथा हिमशृंखलालाई नजिकैबाट अवलोकन गर्न सकिने गौरीटाप ओझेलमा परेको पर्यटकीय गन्तव्य हो । यहाँबाट सगरमाथासहित आठ हजार मिटरभन्दा अग्ला गौरीशंकर, लोत्से, मकालु, कुम्भकर्ण, कञ्चनगंगालगायतका हिमाल तथा चुचुराको दृश्यावलोकन गर्न सकिन्छ । लालीगुँरासको घनाजंगल भएको यस क्षेत्रमा दुई दर्जनभन्दा बढी प्रकारका गुराँस पाइन्छन् । धार्मिक दृष्टिले महत्वपूर्ण गौरीटापमा गौरीशंकर–गणेशको मन्दिर, गौरीगाईको मन्दिर, शिव पञ्चायन मन्दिर छ । स्पार्क एड्भेञ्चरको पहिलो दिन काठमाडौंबाट गौरीटाप, पत्तालेसम्म विद्युतीय सवारीमा यात्रा हुनेछ । सो दिन गौरीटापमा टेन्ट क्याम्पमा बसेर भोलिपल्ट सूर्योदय र सो समयको सुनौलो हिमशृङ्खलाको दृश्यावलोकनपछि दिउँसो रुम्झाटारमा पुग्ने कार्यक्रम छ । सोही दिन साँझ स्थानीय संस्कृतिसहित राष्ट्रिय कलाकारको प्रस्तुतिमा सांगीतिक कार्यक्रममा सहभागी पाहुना र स्थानीय रमाउनेछन् । सो दिन सहभागीहरू स्थानीय परिकारको स्वाद र रहनसहनमा रमाउँदै ओखलढुंगाको रुम्झाटारको होमस्टेमा रात बिताउनेछन् । यसबाट ग्रामीण पर्यटन प्रवर्द्धन हुने अपेक्षा गरिएको स्पार्क एड्भेञ्चरका संयोजक अमरदीप भट्टराई बताउँछन् ।
यसै ठाउँको नामबाट बनेको ‘घुमिफिरि रुम्झाटार’ उखान नेपाली जनजिब्रोमा प्रचलित छ । गुरुङ समुदायको बाहुल्य रहेको रुम्झाटार कुनै समय भेँडापालन र राडीका लागि प्रख्यात थियो । यहाँ उत्पादन हुने भेँडाको ऊनबाट बनेको राडी रुम्झाटार विमानस्थलबाट काठमाडौंसम्म पुर्याइन्थ्यो ।
तेस्रो दिन सहभागीहरू विद्युतीय सवारीमै काठमाडौं फर्कने तालिका छ । प्रत्येक वर्ष प्रचूर पर्यटकीय सम्भावना भएका तर ओझेलमा परेका गन्तव्य तथा गतिविधिलाई प्रवर्द्धन गर्ने उद्देश्यले स्पार्क एड्भेञ्चर आयोजना हुँदै आएको छ । स्पार्क कारले पहिलो वर्ष सन् २०२२ मा लमजुङको भुजुङमा भिरमौरीको मह शिकार अवलोकनलाई प्रवर्द्धन गरेको थियो भने दोस्रो संस्करणमा सन् २०२३ मा ‘वाइल्ड स्टे विथ चौँरी’ थिममा दोखला र रामेछापको सीमानामा रहेको शैलुङको पर्यटन प्रवद्र्धन गरेको थियो । साहसिक पर्यटनको क्षेत्रमा पनि काम गर्दै आइरहेको स्पार्क कारले यात्रुहरूका लागि यातायातको व्यवस्थापन गर्दै आइरहेको छ ।