काठमाडौं । गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा झण्डै तीन करोड रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीले यस अवधिमा दुई करोड ७४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो । यो नाफा गत आवको सोही अवधिको तुलनामा निकै नै बढी हो । गत आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा सात लाख रुपैयाँ मात्र रहेको थियो ।
अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीले चालु आवको तेस्रो त्रैमासमा १९ करोड ४८ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । यो गत आवको सोही अवधिको तुलनामा नौ सय ९० दशमलव ३९ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा कम्पनीले एक करोड ७८ लाख रुपैयाँ मात्र बीमाशुल्क आर्जन गरेको थियो । चालु आवको तेस्रो त्रैमासमा कम्पनीको कुल आम्दानी पाँच करोड ४२ लाख रुपैयाँबाट बढेर २५ करोड ५१ लाख रुपैयाँ पुगेको छ ।
चालु आवको तेस्रो त्रैमासमा कम्पनीको सञ्चालन खर्च पाँच करोड ३५ लाख रुपैयाँबाट बढेर २२ करोड ७७ लाख रुपैयाँ पुगेको छ । यस अवधिमा कम्पनीले १३ करोड ५३ लाख रुपैयाँ बराबरको खुद दाबी भुक्तानी गरेको छ । कम्पनीको बीमा कोषको आकार पनि बढेर १२ करोड ५९ लाख रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा कम्पनीले एक लाख नौ हजार नौ सय ४६ वटा बीमालेख जारी गरेको छ । कम्पनीको प्रतिसेयर कुल सम्पत्तिको मूल्य एक सय २५ रुपैयाँ ८१ पैसा पुगेको छ ।
हाल चुक्ता पुँजी ७५ करोड रुपैयाँ रहेको कम्पनीको महाविपत्ति कोषमा २९ लाख र जगेडा कोषमा झण्डै दुई करोड रुपैयाँ रहेको छ । चालु आवको तेस्रो त्रैमासमा कम्पनीको प्रतिसेयर आम्दानी चार रुपैयाँ ८८ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ एक सय दुई रुपैयाँ ९३ पैसा रहेको छ ।