काठमाडौं । नेपाल र अजरबैजानबीच ऊर्जा पूर्वाधार, जलविद्युत् र पर्यटनजस्ता क्षेत्रमा सहकार्य गर्न सकिने प्रशस्त सम्भावना रहेको सरोकारवालाहरूले बताएका छन् ।
भौगोलिकरूपमा धेरै दूरी भए पनि धेरै कुरामा समानता रहेका यी दुई देशबीच सहकार्य गर्न सकिने उनीहरूको भनाइ छ । एसियन इन्स्टिच्युट अफ डिप्लोमेसी एन्ड इन्टरनेसनल अफेयर्स (एआईडिआईए) ले काठमाडौंमा आयोजना दोस्रो एआईडीआईए व्याख्यान शृंखलाका प्रमुख वक्ता अजरबैजानका परराष्ट्र मन्त्रालयका उपमन्त्री एलनुर मामादोभले नेपाल र अजरबैजाबीच सहकार्यका धेरै सम्भावना रहेको बताए । उनले ‘अजरबैजानको परराष्ट्र नीतिः चुनौतीहरू र अवसरहरू’ विषयमा आफ्नो मन्तव्य दिँदै अजरबैजानको परराष्ट्र नीतिका प्राथमिकता तथा नेपाल र अजरबैजानका बीच रहेका असंख्य सम्भावनाका बारेमा प्रकाश पारेका थिए । अजरबैजानले अन्तर्राष्ट्रिय कूटनीतिमा सक्रिय सहभागिता जनाइरहेको जानकारी दिँदै उनले असंलग्न आन्दोलन (नाम)को अध्यक्षतामार्फत ‘ग्लोबल साउथ’ मुलुकको लागि यो एक महत्वपूर्ण प्लेटफर्म भएको बताए । नेपाल पनि यसै आन्दोलनको एउटा पक्ष राष्ट्र भएका कारण नेपाल तथा अजरबैजानले योलगायत विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरूमा सँगै सहभागिता जनाएको स्मरण गरे ।
कार्यक्रममा उनले अजरबैजानको आन्तरिक हरित ऊर्जा रूपान्तरणलाई उजागर गर्दै सन् २०२७ भित्र कुल विद्युत् उत्पादनको ३०–३३ प्रतिशत नवीकरणीय ऊर्जा स्रोतबाट उत्पादन गर्ने लक्ष्य लिएको जानकारी दिए । उनले अजरबैजानको सफल इ–गभर्नमेन्ट प्लेटफर्म ‘आसान’को पनि परिचय दिए । आसानले सार्वजनिक सेवा प्रवाहमा क्रान्तिकारी परिवर्तन ल्याएको बताउँदै उनले यस प्रणालीलाई नेपाल सरकारले पनि कार्यान्वयन गर्न चाहे अजरबैजानले सहयोग गर्ने बताए ।
कार्र्यक्रममा एआईडीआईएका संस्थापक सुनिल केसीले नेपाल र अजरबैजानबीच द्विपक्षीय सम्बन्ध अझ सुदृढ गर्नु आवश्यक रहेकोमा जोड दिए । उनले ऊर्जा पूर्वाधार, जलविद्युत् र पर्यटनजस्ता सम्भावित सहकार्य क्षेत्रहरूको चर्चा गर्दै यी क्षेत्रहरू दुवै देशका लागि लाभदायक हुन सक्ने पनि बताए । दुवै देशका सरकारलाई हालका सम्पर्कहरूलाई थप मजबुत पार्न र दीर्घकालीन सहकार्य निर्माण गर्न पनि उनले आग्रह गरे । राष्ट्रिय सभा सदस्य तथा नेपाल–अजरबैजान संसदीय कार्यदलकी संयोजक डा अञ्जन शाक्यले दुई देशबीच कृषि, कार्पेट तथा उत्पादन क्षेत्रमा व्यापारको अपार सम्भावना भए पनि अहिलेको व्यापार सम्बन्ध निकै न्यून रहेको बताइन् । उनले शैक्षिक तथा सांस्कृतिक आदानप्रदानलाई सबैभन्दा सार्थक द्विपक्षीय संलग्नता क्षेत्रको रूपमा औँल्याएकी थिइन् । साथै, उनले नेपाल–अजरबैजान संसदीय कार्यदललाई पुनः सक्रिय पार्न र सिधा हवाई सम्पर्क, सजिलो भिसा प्रक्रिया तथा व्यापार आदानप्रदान बढाउने प्रस्ताव पनि राखिन् ।
नेपालका लागि अजरबैजानका गैर–आवासीय राजदूत एल्चिन हुसेनलीले राजनीतिक, आर्थिक तथा सांस्कृतिक पक्षमार्फत नेपालसँगको सम्बन्धलाई अगाडि बढाउन अजरबैजान प्रतिबद्ध रहेको बताए । उपमन्त्री मम्मेदोभ हाल एक उच्चस्तरीय अजरबैजानी प्रतिनिधिमण्डलसहित नेपालको औपचारिक भ्रमणमा आएको थिए । कूटनीतिक सम्बन्ध स्थापना भएको ३० वर्षमा यसपटक पहिलो पटक उच्चस्तरीय अजरबैजानी प्रतिनिधिमण्डलले नेपाल भ्रमण गरेको हो । उच्चस्तरीय अजरबैजानी प्रतिनिधिमण्डल शनिबार फर्किएको छ ।