लस एन्जलस । संयुक्त राज्य अमेरिकाको परराष्ट्र मन्त्रालयले युक्रेनलाई लडाकु विमानसम्बन्धी तालिम, मर्मतसम्भार र आवश्यक सहयोगका लागि तीन अर्ब १० करोड अमेरिकी डलरबराबरको सहायता प्याकेज स्वीकृत गरेको जानकारी पेन्टागनले दिएको छ । उक्त सहयोगमा विमान परिमार्जन, पाइलट तालिम, मर्मतसम्भार सहयोग, अतिरिक्त उपकरण, जमिनमा प्रयोग हुने सामग्री र विशेष किसिमका कार्यक्रम प्रणालीहरू समावेश छन् ।
यस सहयोगमा समावेश भएका कम्पनीहरूमा प्रमुख रूपमा लडाकु विमान उत्पादन तथा प्राविधिक सेवा प्रदान गर्ने अमेरिकी संस्थाहरू रहेका छन् । तर, यो सहयोगमा कुनै नयाँ विमान समावेश छैन । विमानहरू अमेरिकी सरकारबाट नभई युरोपेली मित्र राष्ट्रहरूबाट प्रदान गरिने बताइएको छ ।
यो सहयोग गत वर्ष डिसेम्बरमा स्वीकृत भई दुई अर्ब ६६ करोड रुपैयाँबराबरको अर्को सम्झौतापछिको निरन्तरता हो, जसले मिसन योजना प्रणाली र मर्मत उपकरणहरू उपलब्ध गराएको थियो ।
नेदरल्याण्ड, डेनमार्क, नर्वे र बेल्जियमजस्ता मित्र राष्ट्रहरूले हालसम्म युक्रेनलाई जम्मा ७९ वटा लडाकु विमान दिने घोषणा गरिसकेका छन् । सन् २०२५ भरि थप विमानहरू पठाइने अपेक्षा गरिएको छ ।
एउटा अन्तर्राष्ट्रिय उड्डयन सूचनास्रोत संस्थाका अनुसार, हालै एक विमान टक्सनस्थित अमेरिकी सैन्य आधार शिविरमा ल्याइएको थियो, जुन पछि पोल्याण्डतर्फ पठाइएको देखिएको छ ।
स्थानीय सञ्चार माध्यमको रिपोर्टअनुसार, टक्सननजिकै रहेको ‘डेभिस–मन्थन’ नामक पुराना विमानहरू भण्डारण गरिने स्थानबाट ती विमानका भागहरू लिइएका हुन् । अमेरिकी वायु सेनाले दिएको जानकारीअनुसार ती विमानहरू पहिले प्रयोगमा ल्याइएका भए पनि हाल उड्न सक्ने अवस्थामा छैनन् । ती विमानहरूबाट युक्रेनले पाउने विमानहरूका लागि अतिरिक्त भागको रूपमा प्रयोग गरिनेछ ।
रासस/सिन्ह्वा