काठमाडौँ । काठमाडौँमा स्टाफ कलेज कोर्सको उद्घाटन गर्दै आइतबार गृहमन्त्री रमेश लेखकले स्टाफ कलेजमा पढाइ हुने कोर्सले प्रहरीमा असल नेतृत्व निर्माण र सङ्गठनलाई असल नेतृत्व प्रदान गर्ने बताएका छन् । उनले स्टाफ कलेजले नेपाल प्रहरीको नेतृत्व निर्माणमा असल भूमिका खेल्नेमा विश्वास व्यक्त गरे ।
राष्ट्र सेवामा समर्पित प्रहरीले गर्दै आएको काममा एउटा थप राम्रो काम भएको भन्दै गृहमन्त्री लेखकले कलेजबाट प्रहरीमा इमान्दारिता र कामप्रति समर्पित, सीप, ज्ञान, क्षमता र दक्षता भएको जनशक्ति उत्पादन हुने बताए ।
प्रहरी सेवालाई आधुनिकीकरण, नेतृत्व क्षमताको विकास र अधिकृतलाई बदलिँदो सुरक्षा परिवेशसँग जुध्न सक्षम बनाउन स्टाफ कलेज कोर्स एक रणनीतिक कदम भएको जनाइएको छ । प्रहरीले २०७० सालमा प्रहरी निरीक्षकमा भर्ना भएको ब्याचबाट यो कोर्स लागू गरिएको जनाएको छ । उक्त ब्याचबाट १७ जना उत्तीर्ण भएका थिए ।