काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले रोजगारी पाउनका लागि हातमा आवश्यक सिप हुनुपर्ने बताएका छन । आइतबार काठमाडौंमा ग्रिल तथा स्टिल व्यवसायी महासंघको ३०औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले हातमा आवश्यक सिप भए देशभित्रै रोजगारीका थुप्रै अवसरहरू उपलब्ध रहेको बताएका हुन् ।
देशभित्र विभिन्न क्षेत्रमा रोजगारीको अवसरको खोजी भइरहेको बताउँदै उनले आवश्यक तालिम र सिप दिएर तिनीहरूलाई रोजगारसँग जोडनुपर्ने बताए । ‘देशभित्र पनि सिपयुक्त कामदारका धेरै माग छन् तर सिप नहुँदा बाहिरबाट आएका मान्छेहरू नेपालमा काम गरी रहेका छन । तर हाम्रा युवाहरू थोरै सेवा सुविधामा विदेशी रहेका छन’, उनले भने । यस्तै, उनले परम्परागत व्यवसायलाई पनि संरक्षण गर्नुपर्ने तर आधुनिक व्यवसायलाई पनि अँगाल्दै बजार विस्तार गरी अन्तर्राष्ट्रियस्तरमा पहुँच पु¥याउनुपर्नेमा जोड दिए । यसले मुलुकको आर्थिक समृद्धिमा पनि टेवा पुग्ने उनको भनाइ छ ।
मन्त्री भण्डारीले काम गरेर खानु भनेको सम्मान र इज्जतदार काम हो भनेर बुझाउन नसक्दा युवाहरू देशभित्रै काम नगरी विदेशिएको भन्दै चिन्ता व्यक्त गरे । उनले भने ‘कामलाई सम्मान र आवश्यक तालिम दिएर दक्ष जनशक्ति तयार गर्न अब ढिला गर्नु हुँदैन । मेहनत र काम गर्ने संस्कृतिको विकास गर्नु जरुरी छ ।’ उनले देशभित्रका सबै आर्थिक सूचकहरू सुधार हुँदै गएको जिकिर गर्दै अगामी दिनमा देशभित्र आन्तरिक रोजगारीको अवसरहरू पनि सिर्जना हुने दाबी गरे । मन्त्री भण्डारीले ग्रिल तथा स्टिल व्यवसायी क्षेत्रलाई अझै सम्मानित क्षेत्र बनाउन आग्रह गर्दै यस क्षेत्रमा लागेका प्रत्येक व्यक्तिले टाउको उठाएर काम गर्ने व्यवसायीको रूपमा काम गर्न आग्रह गरे ।
उनले देशभित्र आन्तरिक रोजगार सिर्जना गर्नका लागि नेपाल सरकार, श्रम मन्त्रालय सबै सरोकारवाला पक्षसँग सहकार्य गर्न तत्पर रहेको स्पष्ट पार्दै देशभित्रका रोजगारीको अवसर उजागर गर्न ढिला गर्न नहुने जिकिर गरे । मन्त्री भण्डारीले आन्तरिक र वैदेशिक रोजगारीलाई सात सय ५३ स्थानीय तहसम्म विस्तार गर्न भर्खरै लन्च गरिएको श्रम संसार पोर्टलमार्फत रोजगारीका अवसर, सीपमूलक तालिम, कामदारको माग तथा आवश्यक सम्पूर्ण सेवाहरू एकद्वार प्रणालीमार्फत डिजिटाइसेजन सेवा सुरुवात गरिएको बताउँदै सबैलाई त्यसमा आबद्ध हुन आह्वान गरे ।