काठमाडौं । प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडाले देशमा पाँच प्रतिशतभन्दा बढी आर्थिक वृद्धिदर हासिल गर्न आन्तरिक ऋण लिनु अपरिहार्य रहेको बताएका छन् ।
वर्तमान अवस्थामा मुलुकका सबै आर्थिक सूचकहरू सकारात्मक रहेको बताउँदै पूर्वअर्थमन्त्री समेत रहेका खतिवडाले नेपालको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न आगामी बजेटमा ऋण लिएरै भए पनि अर्थतन्त्रलाई चलायमान बनाउनुपर्नेमा जोड दिए । राजधानीमा आयोजित ‘पूर्वबजेट अन्तक्र्रिया’ कार्यक्रममा सम्बोधन गर्दै उनले छ–सात प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्न ऋणको आकार बढाउनुपर्ने आवश्यकता औँल्याए । ‘मैले अर्थमन्त्री हुँदा आन्तरिक ऋणका लागि क्षेत्र निर्धारण गरेको थिएँ, डा खतिवडाले भने ‘अब भने केवल क्षेत्र तोकेर मात्र पुग्दैन, ठोस परियोजना निर्धारण गरेर आन्तरिक ऋण लिनुपर्ने आवश्यकता छ ।’
हाल मुलुक आर्थिक लयमा फर्किएको उनको भनाइ छ । यही गतिमा अगाडि बढेमा आगामी वर्षमा विकासोन्मुख राष्ट्रबाट नेपाल विकासशील राष्ट्रमा स्तरोन्नति हुने उनले विश्वास व्यक्त गरे । डा खतिवडाका अनुसार सरकारले हालै सार्वजनिक गरेको नीति तथा कार्यक्रममा सूचना प्रविधिलाई प्राथमिकता दिइएको छ । त्यसअनुसार ‘बिजनेस प्लान’ र ‘इकोसिस्टम’ निश्चित गरी ‘जेनजी पुस्ता’ लक्षित ‘स्टार्टअप’ कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको छ । यसले युवालाई लक्षित गर्दै उद्यमशीलताको माध्यमबाट आन्तरिक रोजगारी सिर्जना र आयआर्जनको अवसर बढाउने उनको भनाइ छ ।
कार्यक्रममा सरकारी आयोगले दिएका प्रतिवेदनहरू कार्यान्वयन नभएकोप्रति डा खतिवडाले ती प्रतिवेदनहरू पूर्ण नहुनु, अध्ययन आवश्यक देखिनु र चरणवद्ध रूपमा लागू गर्ने तयारीका कारण ढिलाइ भएको बताए । उनका अनुसार आर्थिक सुधार आयोग र खर्च पुनरावलोकन आयोगका सुझावलाई क्रमिकरूपमा कार्यान्वयनमा ल्याउने सरकारको योजना रहेको छ । डा खतिवडाले देशको आर्थिक उन्नतिका लागि सबै क्षेत्र थप जिम्मेबार भएर अगाडि बढ्नुपर्ने बताए ।
कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा रेशम थापाले आगामी आर्थिक वर्ष २०८२÷ ८३ को लागि सम्भावित ‘पूर्वबजेट र यसले समेट्नुपर्ने विषय’का बारेमा कार्यपत्र प्रस्तुत गर्दै आगामी बजेटलाई लयमा फर्काउन अर्थतन्त्रका सबै क्षेत्रलाई चलायमान बनाउनुपर्नेमा जोड दिए । प्राध्यापक डा थापाले सरकारले यथासक्य चाँडो नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त गर्नुपर्नेमा जोड दिए । प्राध्यापक डा थापाद्वारा प्रस्तुत कार्यपत्रमा वर्तमान अवस्थामा बाहिर हेर्दा मुलुकको अर्थतन्त्र कमजोर देखिए पनि तथ्याङ्कगतरूपमा सुधारोन्मुख देखिएको तथ्य सार्वजनिक गरिएको थियो ।
पूर्वबजेट छलफल कार्यक्रममा सहभागी अर्थशास्त्री केशव आचार्य, साइबर सुरक्षा अनुसन्धान तथा नवप्रवर्तन केन्द्रका अध्यक्ष डा शालिग्राम पराजुली, नेपाल खुला विश्वविद्यालयका प्राध्यापक डा भोजराज घिमिरे, साइबर सुरक्षा अनुसन्धान तथा नवप्रवर्तन केन्द्रका संस्थापक अध्यक्ष चिरञ्जीवी अधिकारीलगायतले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथी टिप्पणी गर्नुका साथै आगामी बजेटमा समावेश गर्नुपर्ने विषय, बजेट कार्यान्वयनका चुनौती, सुशासनमा रहेका समस्या तथा सुधार र समाधानका उपायहरूका बारेमा धारणा राखेका थिए ।