टक्सार (भोजपुर) । धनकुटाको गोठगाउँमा यात्रुवाहक बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको मृत्यु भएको छ भने तीन जनाको अवस्था जटिल रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
धरानबाट धनकुटा आउँदै गरेको १ ख २१७७ नम्बरको बस सोमबार विहान धनकुटा नगरपालिका–६ गोठगाँउस्थित कोशी लोकमार्गमा भोजपुरतर्फ जाँदै गर्दा सडकबाट तल खस्दा दुर्घटना भएको हो । घाइतेलाई उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल धनकुटा लगिएको छ ।
जिल्ला प्रहरी कार्यालय धनकुटाले घाइतेमध्ये धनकुटा नगरपालिका–६ बस्ने ७३ वर्षीया कृष्णकुमारी राईको उपचारको क्रममा मृत्यु भएको जनाएको छ । अन्य घाइतेमा भोजपुरको षडानन्द नगरपालिका–१३ का सूर्यमणि तामाङ, सोही स्थानका अनमोल तामाङ, सुनसरीको बराहक्षेत्र नगरपालिका–२ का कृष्ण राउत, बस चालक सुनसरीको धरान उपमनपा–१३ का रुद्र तामाङ, भोजपुर पौवादुङमा गाउँपालिका–३ च्याङग्रेका गङ्गाप्रसाद सापकोटा रहेका छन् ।
साथै धनकुटाको साँगुरीगढी गापा–६ का हंशबहादुर राई, धनकुटा साँगुरीगढी गाउँपालिका–६ का दीर्घमाया राई, धनकुटा–६ का धनकुमार विक, भोजपुर नगरपालिका–११ का सविना बराइली, सोही ठाउँका देवी टविक, भोजपुरको षडानन्द नगरपालिका–११ कापुर्णमाया तामाङ, भोजपुर नगरपालिका–११ का लिलाबहादुर श्रेष्ठ, इटहरीका आयुष राई पनि घाइने भएको प्रहरीले जानकारी गराएको छ ।