काठमाडौँ । स्रोत नखुलेको ९५ लाख १७ हजार पाँच सय रकमसहित जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले चार जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । काठमाडौँ महानगरपालिका–९ पिङ्गलास्थानस्थित पशुपति भिजन अगाडि सडकबाट मोटरसाइकलमा शङ्कास्पद अवस्थामा उनीहरुको साथमा रहेको झोला खानतलासी गर्दा उक्त रकमसहित नियन्त्रणमा लिइएको हो ।
सप्तरी, सप्तकोशी नगरपालिका–१ का ४३ वर्षीय गणेश राई, काठमाडौँ तार्केश्वर नगरपालिका–३ फेदीका २९ वर्षीय समुद्र जमकट्टेल, लमजुङ, दोर्दी गाउँपालिका–३ का ३१ वर्षीय सन्तोष गुरुङ तथा सोही ठाउँका ३९ वर्षीय सन्तोष घिमिरे पक्राउ परेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिएका छन् । प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।