वासिङ्टन डिसी । अमेरिकी अर्बपति लगानीकर्ता वारेन बफेटले डोनाल्ड ट्रम्पको कडा व्यापार नीतिको आलोचना गरेका छन् । उनले ट्रम्पले अवलम्बन गरेको भन्सार शुल्क र संरक्षणवादविरुद्ध चेतावनी दिएका हुन् ।
वर्कशायर हाथवे कम्पनीको वार्षिक साधारणसभा (एजीएम)लाई शनिबार सम्बोधन गर्दै ९४ वर्षीय बफेटले ट्रम्पलाई व्यवसायलाई हतियार नबनाउन सुझाव दिएका हुन् । उनले विश्वका बाँकी देशहरूसँगको व्यापारमा दण्डात्मक शुल्क लगाउनु ठूलो गल्ती भएको बताए ।
अन्तर्राष्ट्रिय व्यापारलाई हानि पुर्याउने भन्सार शुल्कको मुद्दामा बफेटले भने, ‘मेरो विचारमा, यो ठूलो गल्ती हो। जब तपाईँसँग साढे सात अर्ब मानिसहरू छन् जसले तपाईँलाई धेरै मन पराउँदैनन् र तपाईँसँग ३० करोड मानिसहरू छन् जो आफूले गरेको राम्रो काममा गर्व गर्छन् । मलाई लाग्दैन यो सही वा बुद्धिमानी हो ।’
आयातमा शुल्क लगाएर अमेरिकी उद्योगहरूलाई संरक्षण गर्ने ट्रम्पको दाबीको बारेमा उनले अमेरिकाले बाँकी विश्वसँग व्यापार गर्नमा ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिए । ‘हामीले त्यही गर्नुपर्छ जुनमा हामी उत्कृष्ट छौँ र उनीहरूले त्यही गर्नुपर्छ जुनमा उनीहरू उत्कृष्ट छन्’, उनले भने ।
वास्तवमा, शुल्कको डरले बजारहरूलाई हल्लाएको छ । एक दशमलव एक ट्रिलियन डलरको कम्पनी वर्कसायरको नतिजाले यसको सञ्चालन आम्दानी १४ प्रतिशतले घटेको देखाएको छ । खुद आम्दानी पनि ६४ प्रतिशतले घटेको छ । बफेटले वार्षिक साधारणसभामा यस वर्षको अन्त्यसम्ममा पद त्याग्ने घोषणा गरे । ग्रेग एबेलले वर्कसायर हाथवेको सीईओको रूपमा कार्यभार सम्हाल्नेछन् ।