काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले बीमाप्रतिको विश्वसनीयता बढ्ने गरी जिम्मेवारीपूर्वक काम गर्न बीमा कम्पनीका प्रदेश कार्यालय प्रमुखहरूलाई निर्देशन दिएका छन् । नेपाल बीमा प्राधिकरण, मधेश प्रदेश कार्यालयको आयोजनामा सोमबार वीरगञ्जमा बीमा कम्पनीका प्रदेश कार्यालयका प्रमुखहरूसँग बीमासम्बन्धी समसामयिक विषयमा छलफल एवं अन्तक्र्रिया कार्यक्रममा अध्यक्ष ओझाले उक्त निर्देशन दिएका हुन् ।
अध्यक्ष ओझाले बीमा कम्पनीको जोखिमाङ्कन सही भएमा दाबी भुक्तानीमा समस्या नआउने उल्लेख गर्दै जोखिमाङ्कन सहीरूपमा गर्न र बजारमा कुनै पनि समस्या नआउने गरी बीमा ऐन नियमबमोजिम काम गर्न निर्देशन दिए । अध्यक्ष ओझाले प्रदेश तथा स्थानीयस्तरमा बीमासम्बन्धी कुनै समस्या वा गुनासा भए प्राधिकरणलाई जानकारी दिन आग्रह गरे ।
कार्यक्रममा बीमा कम्पनीका प्रदेश कार्यालयका प्रमुखहरूले प्रदेश कार्यालयमा पर्याप्त अधिकार नभएको र जनशक्ति समेत न्यून रहेको, कृषि बीमाको सिफारिस लिन र क्षतिको निरीक्षण गर्न कठिनाइ हुने गरेको, क्यास ब्याकमा चलखेल हुने गरेको, अस्वस्थ प्रतिस्पर्धा हुने गरेको, बीमासम्बन्धी जनचेतना बढ्न नसकेको र दाबी प्रक्रियालाई सरल बनाउन आवश्यक देखिएको लगायतका धारणा राखेका थिए ।
कार्यक्रममा वीरगञ्जस्थित जीवन बीमा कम्पनी र निर्जीवन बीमा कम्पनीका प्रदेश कार्यालय प्रमुखहरूको सहभागिता रहेको थियो ।