काठमाडौं । पर्यटन व्यवसायीले हवाई टिकटमा लाग्ने मूल्य अभिवृद्धि कर (भ्याट) पूर्णरूपमा हटाउन सरकारसँग माग गरेका छन् ।
पर्यटन क्षेत्रमा कार्यरत विभिन्न संघसंस्थाले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई भेटेर हवाई टिकटमा लाग्ने भ्याट पूर्णरूपमा हटाउनुपर्ने, पाँचतारे र उच्च श्रेणीका होटलमा लागू दुई प्रतिशत विलासिता कर हटाउनुपर्ने, हवाई टिकटमा आउटस्ट्यान्डिङ ट्याक्स प्रणाली कार्यान्वयन गर्नुपर्नेलगायत माग गरेका छन् । नेपालको पर्यटन क्षेत्रलाई दिगो, समावेशी तथा उच्च आम्दानीमूलक बनाउन उनीहरूले अर्थमन्त्रीसमक्ष विभिन्न आधारसहित सुझाव तथा मागपत्र पेस गरेका हुन् । यस्तै, साना तथा मझौला पर्यटन व्यवसायीलाई सहुलियत कर्जा र कर छुटको व्यवस्था तथा ट्राभल एजेन्सीलाई सेवा शुल्क सुनिश्चित गर्ने नीतिगत व्यवस्था गर्नुपर्ने उनीहरूको माग छ ।
यस्तै, उनीहरूले दीर्घकालीन र सहज राहदानी नीति लागू गर्नुपर्ने, कैलाश मानसरोवर यात्राका लागि आवश्यक उच्चस्तरीय कूटनीतिक समन्वय गर्नुपर्ने, पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स) डिजिटलाइजेसन अनिवार्य गर्नुपर्ने, विदेशी पर्यटकका लागि ट्रेकिङ तथा पर्वतारोहणमा सहभागी विदेशी पर्यटकका लागि अनिवार्य ट्राभल इन्सुरेन्स नीति बनाउनुपर्ने माग गरेका छन् । यसैगरी, राष्ट्रिय पदमार्गका रूपमा कानुनी मान्यता दिएर पूर्वाधार, सूचना, सुरक्षा, संकेतबोर्ड आदिको व्यवस्थित विकास गर्न सकिने, ग्रेट हिमालय ट्रेललाई दश खण्डमा बाँडेर आवश्यक पूर्वाधार विकास, प्रवद्र्धन र मार्केटिङ गर्ने तथा यसका माध्यमबाट नेपाललाई विश्वको प्रमुख साहसिक पदयात्रा गन्तव्यका रूपमा स्थापित गर्न सुझाव दिइएको छ ।
पर्यटन व्यवसायीले मुस्ताङको कोरला नाकालगायत अन्य विशेष नाकामा अध्यागमनको आवश्यक सुधारसहित चीन र छिमेकी मुलुकसँगको सीमा व्यापार तथा धार्मिक पर्यटन प्रवेशद्वारका रूपमा विकास गर्न पहल गर्नुपर्ने माग गरेका छन् । गुम्बा, ध्यान केन्द्र, योग आश्रम, पदमार्ग र सांस्कृतिक तीर्थस्थललाई एकीकृत गरी आध्यात्मिक पर्यटनका विकास गर्नुपर्ने यसका लागि आध्यात्मिक, वेलनेस र पदयात्रा पर्यटनलाई एकीकृत विकास गर्न सकिने बताइएको छ । व्यवसायीले पर्यटन पूर्वाधार सञ्चालनमा उच्च विद्युत् महसुल लाग्ने हुँदा होटल, रिसोर्ट तथा ट्रेकिङ होलिडे क्याम्पलाई औद्योगिक दरमा विद्युत् उपलब्ध गराउँदा पर्यटन प्रवर्द्धन र विकासमा टेवा पुग्ने बताएका छन् ।
भेटमा ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष सागर पाण्डे, नेपाल पर्वतारोहण संघ (एनएमए) का अध्यक्ष निमानुरु शेर्पा, होटल संघ नेपाल (हान)का अध्यक्ष विनायक शाह, नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) का अध्यक्ष कुमारमणि थपलिया, नाट्टाका महासचिव युविका भण्डारीलगायत सहभागी थिए ।