काठमाडौं । छ दशकदेखि चियारोपण, प्रशोधन, बजारीकरण र निर्यातमा योगदान गरिरहेका उद्योगी रामकुमार राठीलाई सरकारले लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरेको छ ।
उद्योगी राठीलाई २९ औँ राष्ट्रिय चिया दिवसका अवसरमा राष्ट्रिय चिया तथा कफी विकास बोर्डले अवार्ड प्रदान गरेको हो । कृषि तथा पशुपन्छी विकासमन्त्री एवं बोर्डका अध्यक्ष रामनाथ अधिकारी र बोर्डका कार्यकारी निर्देशक फाइन्द्रराज पाण्डेले राठीलाई दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गरेका थिए । राठी नेपालका पहिलो टि टेस्टर (चिया परीक्षक) हुन् । उनले टेस्टिङ प्लान्टेसन एन्ड म्यानुफ्याक्चरिङमा स्नातकोत्तर गरेका छन् । पच्चीस वर्षको उमेरमा चीन गएका बेला त्यहाँको टि–टेस्टिङ हेरेपछि उनी यस क्षेत्रतर्फ आकर्षित भएका थिए । चीनबाट फर्केलगत्तै राठी इलाम टि–गार्डेनमा पुगे र त्यहाँ प्रबन्धकका रूपमा कार्यरत बेलायती नागरिक प्रोसरबाट चियाबारे आधारभूत ज्ञान लिए ।
सन् १९६८ देखि १९७०सम्म डीसी धोष एन्ड कम्पनी प्रालिको कलकत्ताको एक व्यापारिक प्रतिष्ठानमा टि–टेस्टर तालिममा लिएर अभ्यास गरी उनी नेपाल फर्किएका थिए । उनले १९७२ मा आरके ओभेरसिज कम्पनी स्थापना गरेर चियाको निर्यात गर्न थालेका हुन् । त्यति बेला उनी इलामको चिया बजारीकरण गर्न जर्मनी, डेनमार्क, स्विडेन, हल्यान्ड, बेलायत, फ्रान्स, स्विट्जरल्यान्ड, अस्ट्रिया, इजिप्ट र इरानसम्म पुगेका थिए । त्यसपछि उनको निर्यात व्यापारमा गुणात्मक वृद्धि हुन थालेको हो ।
विसं २०३३ सालमा हिमाल चिया उद्योग प्रालिको स्थापना भएको थियो । विसं २०४६ सालमा पहाडी भेगमा निजी क्षेत्रबाट उनले चिया उत्पादन गर्ने पहिलो कारखाना इलाम जिल्लाको मालुममा हिमालयन रेन्ज चिया उद्योग प्रालिको स्थापना गर्न सफल भएका थिए । उनले २०६३ मा झापाको हल्दीबारीमा सीटीसी चिया उत्पादन गर्न सुनकोशी चिया उद्योगको स्थापना गरेका थिए भने २०७२ मा इलामको शान्तिडाँडामा अर्गानिक चिया उत्पादन गर्ने हिमालयन भ्याली प्रालि उद्योगको स्थापना गरे । हाल उनले ‘राकुरा’ ब्रान्डमा सीटीसी र अर्गानिक चिया उत्पादन, निर्यात गर्दै आएका छन् ।